काठमाडौं । नागर्जुन नगरपालिकाको कवाडी कर ठेक्कासम्बन्धी विषयमा अदालतबाट अन्तरिम आदेश जारी भइसकेपछि पनि निशान सप्लायर्सले कर असुली जारी राखेको भन्दै विवाद चुलिएको छ। अदालतले २०८३ असार २६ गते अन्तरिम आदेश जारी गरेपछि पनि ठेकेदार कम्पनीले कर उठाइरहेको पाइएको छ ।




आरोपअनुसार निशान सप्लायर्ससँग सम्बन्धित दिपेश अग्रवाल, कुन्दन सिंह र विवेक शर्माले अदालतको आदेशलाई बेवास्ता गर्दै कवाडी व्यवसायीबाट कर असुली गरिरहेका छन्। यसरी अदालतको आदेश विपरीत गरिएको कर असुली गैरकानुनी भएको दाबी गरिएको छ।

यस विषयमा नागर्जुन नगरपालिकाले समेत निशान सप्लायर्सलाई अदालतको अन्तरिम आदेशको पूर्ण पालना गर्न लिखित निर्देशन दिएको बताइएको छ। तर उक्त निर्देशनपछि पनि कम्पनीले कर संकलन नरोकिएको आरोप सार्वजनिक भएको छ।

घटनापछि नगरपालिकाको केही कर्मचारी र निशान सप्लायर्सबीच मिलेमतो भएको आशंका व्यक्त गरिएको छ। अदालतको आदेश कार्यान्वयनमा बेवास्ता गरिएको विषयले कानुनी शासनमाथि नै प्रश्न उठाएको भन्दै सम्बन्धित निकायबाट निष्पक्ष छानबिनको माग गरिएको छ।











