काठमाडौँ – सुनौलो नेपाल अनलाइन प्रालिद्वारा सञ्चालित सुनौलो नेपाल डटकमको सम्पादकमा पत्रकार दिनेश थापा नियुक्त भएका छन् ।सुनौलो नेपाल अनलाइन प्रालिको सञ्चालक समितिको सोमबार बसेको बैठकले थापालाई सम्पादकको जिम्मेवारी दिने निर्णय गरेको हो।
नवनियुक्त सम्पादक थापाले सोमबारदेखि नै औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेका छन् । सम्पादक थापालाई सुनौलो नेपाल अनलाइन प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक मोहराज पौडेल र महाप्रबन्धक बबिता पुडासैनीले कार्यालयमा स्वागत गरेका थिए । सो अवसरमा उनीहरूले थापाको अनुभव, व्यावसायिक दक्षता र नेतृत्वमा सुनौलो नेपालले पत्रकारिताको क्षेत्रमा थप नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे ।



वि.सं. २०६० सालमा काभ्रेबाट प्रकाशित हुने चेष्टा साप्ताहिकबाट पत्रकारिता यात्रा सुरु गरेका थापासँग दुई दशकभन्दा लामो पत्रकारिताको अनुभव छ । उनले अनलाइनखबर, नेपाल प्रेस, राजधानी दैनिक र सिन्धुप्रवाह साप्ताहिकलगायत विभिन्न सञ्चारमाध्यममा रहेर काम गरिसकेका छन् ।पत्रकार महासंघ सिन्धुपाल्चोकको विभिन्न तह र जिम्मेवारीमा रहेर लामो समय सक्रिय भूमिका निर्वाह गरेका थापा पत्रकारिता क्षेत्रमा खरो, प्रखर र स्पष्ट दृष्टिकोण राख्ने पत्रकारका रूपमा परिचित छन् ।
थापाले पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् । सम्पादकको जिम्मेवारी सम्हाल्दै थापाले व्यावसायिक, निष्पक्ष र विश्वसनीय पत्रकारितालाई केन्द्रमा राखेर सुनौलो नेपालको सम्पादकीय नेतृत्व गर्ने प्रतिबद्धता जनाए ।‘इमानदारी, व्यावसायिकता र पत्रकारिताका आधारभूत मूल्य–मान्यतालाई केन्द्रमा राखेर सुनौलो नेपाललाई थप सशक्त र प्रभावकारी सञ्चारमाध्यमका रूपमा अघि बढाउन प्रयत्न गर्नेछु,’ थापाले भने।वि.सं. २०७३ सालदेखि सञ्चालनमा रहेको सुनौलो नेपाल अनलाइन प्रालिले सुनौलो नेपाल डटकमसँगै आफ्नै अनलाइन टेलिभिजनसमेत सञ्चालन गर्दै आएको छ ।











