काठमाडौं— नेपाली कांग्रेसका नेता मोहन बस्नेतले मुगुका गणेश नेपालीकी छोरीको स्नातक तहसम्मको अध्ययन निःशुल्क गराइदिने घोषणा गरेका छन्।
कर्णाली प्रदेशको सुर्खेत रंगशालामा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले उपचारका क्रममा निधन भएका गणेश नेपालीको परिवारलाई तत्काल एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।



उनले भने, “जसको मृत्यु भएको छ, उहाँको परिवारलाई प्रारम्भिक राहतस्वरूप एक लाख रुपैयाँ तुरुन्त व्यवस्था गरिदिन्छु। साथै, उहाँकी छोरीको भविष्य सुरक्षित होस् भन्ने उद्देश्यले स्नातक तहसम्म निःशुल्क अध्ययनको व्यवस्था गर्न म पहल गर्छु। यो काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
बस्नेतले काठमाडौं महानगरपालिकाले हाल सहयोग गरे पनि भविष्यमा निरन्तरता रहने वा नरहने निश्चित नभएकाले बालिकाको दीर्घकालीन शिक्षाको जिम्मेवारी लिन आफूले पहल गर्ने बताए।
शुक्रबार उपचारका क्रममा गणेश नेपालीको निधन भएको थियो। उनले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिक आत्मदाहको प्रयास गरेका थिए, जहाँ उनी गम्भीर रूपमा घाइते भएका थिए।
कार्यक्रममा बस्नेतले तीन वर्षअघि संसद् भवन अगाडि आत्मदाह गरेका प्रेम आचार्यका दुई सन्तानको पनि आफूले निःशुल्क अध्ययनको व्यवस्था मिलाएको स्मरण गराउँदै, संकटमा परेका परिवारको साथमा रहने प्रतिबद्धता दोहोर्याए।











