
काठमाडौं विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद प्रकरणमा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतलाई लागेको भ्रष्टाचार आरोपबाट सफाइ दिएको छ। उक्त मुद्दामा अदालतले बस्नेतविरुद्ध अभियोग पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएको निष्कर्षसहित सफाइ दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रणाली खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै बस्नेतसहित अन्य प्रतिवादीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। बस्नेतमाथि सञ्चारमन्त्री रहँदा दूरसञ्चार प्राधिकरणको बजेट तथा कार्यक्रम स्वीकृतिका क्रममा टेरामक्स प्रणाली खरिदसम्बन्धी निर्णय गराई राज्यलाई हानि पुर्याएको आरोप लगाइएको थियो।



विशेष अदालतले मुद्दाको सुनुवाइपछि बस्नेतको हकमा अभियोग पुष्टि हुने आधार नपुगेको ठहर गर्दै सफाइ दिएको हो। यसअघि अदालतले थप प्रमाण झिकाउने तथा विज्ञको बकपत्र गराउने आदेशसमेत दिएको थियो।
यस फैसलासँगै बहुचर्चित टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतमाथिको भ्रष्टाचार अभियोगबाट उनले कानुनी रूपमा उन्मुक्ति पाएका छन्। अन्य प्रतिवादीहरूको हकमा अदालतको निर्णय भने सम्बन्धित फैसलाअनुसार लागू हुनेछ।
तपाईको प्रतिक्रिया !










