काठमान्डौं- बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरिएको ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बराबरको बजेट प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
शनिबार बसेको प्रदेश सभा बैठकले आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रस्तुत गर्नुभएको प्रदेश आर्थिक विधेयक, २०८३ अन्तर्गतको बजेट प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेको हो।



प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि उक्त बजेट गत असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको थियो। बजेटमाथि असार १६ गतेदेखि निरन्तर छलफल भएको थियो। छलफलका क्रममा उठेका विषयहरूमाथि आवश्यक जवाफ र स्पष्टिकरणपछि प्रदेश सभाले बजेटलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।
बजेट पारित भएसँगै आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले तय गरेका विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा अन्य प्राथमिकताका कार्यक्रम कार्यान्वयन गर्ने बाटो खुलेको छ।











