सिन्धुपाल्चोक- इन्द्रावती ११ मा डेंगी फैलावट रोक्न ‘खोज र नष्ट गर अभियान’ डेंगी संक्रमण रोक्न सचेतना अभियान थालिएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा इन्द्रावती -११ बोडगाउँमा ‘खोज र नष्ट गर’ अभियान, अभिमुखिकरण सँगै सचेतना कार्यक्रम गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो । सर्वसाधारणलाई डेंगी रोगका बारेमा जानकारी दिने उद्देश्यका साथ सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।
अभियानका क्रममा डेंगीबारे जानकारी, यसबाट बच्न अपनाउनुपर्ने उपायलगायत विषयमा नागरिकलाई जानकारी प्रदान गरिएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत हिसिला दनुवारले बताउनुभयो । डेंगी सार्ने एडिस जातको पोथी लामखुट्टेको जीवनचक्रलाई तोड्नु अभियानको मुख्य उद्देश्य रहेको छ । ‘लामखुट्टे वयस्क भएर मानिसलाई टोक्नुअघि यसको लार्भा र प्युपा अवस्था पहिचान गरी नष्ट गर्न सके डेंगीको संक्रमण घटाउन सकिन्छ ।



त्यसैले यो अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा इन्द्रावती गाउँपालिकाका ११ का अध्यक्ष राम्जि माझी , १० का अध्यक्ष रामचन्द्र घिमिरे , ११ नम्बरका पुर्व अध्यक्ष मने माझी स्वास्थ्य शाखा प्रमुख अनिरुद्र तिमल्सिना ,जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत साहारा सापकोटा, स्वास्थ्यकर्मी, महिला स्वंसेवीका , आमा समुह, क्लबका पदाधिकारी र स्थानीयको सहभागीता रहेको थियो ।











