काठमान्डौं- कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका क्रममा बिहीबार कारागार चलान गरिएको छ।
निर्मला पन्त हत्या प्रकरणसँग सम्बन्धित तथ्यहीन समाचार प्रकाशन गरेको भन्दै तत्कालीन जिल्ला प्रहरी प्रमुख (एसपी) दिल्लीराज विष्टका छोरा किरण विष्टले दायर गरेको गाली बेइज्जती मुद्दामा अदालतले भण्डारीलाई दोषी ठहर गरेको थियो।



जिल्ला अदालत कञ्चनपुरले २०८२ जेठ १ गते पत्रकार भण्डारीलाई १ महिना कैद, १० हजार रुपैयाँ जरिवाना तथा १ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो। त्यसपछि उच्च अदालत दिपायलले थप ७ दिन कैद र २ हजार १०० रुपैयाँ जरिवानाको फैसला गरेको थियो।
भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता बमोजिम जरिवाना तथा तोकिएको रकम बुझाएर कैद सजाय भुक्तान गर्न निवेदन दिएका थिए। तर जिल्ला अदालतका न्यायाधीश राजेन्द्र सिंह भण्डारीको इजलासले उनी यसअघि पनि अदालतबाट सजाय पाइसकेको व्यक्ति भएकाले उक्त कानुनी सुविधा दिन नमिल्ने ठहर गर्दै निवेदन अस्वीकार गरेको हो।
यसअघि पनि निर्मला पन्त हत्या प्रकरणसँग सम्बन्धित अर्को गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई १ घण्टा कैद र १ रुपैयाँ जरिवानाको सजाय सुनाइएको थियो।
२०७५ साउनमा कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको चर्चित घटनाका वास्तविक दोषी भने हालसम्म पत्ता लाग्न सकेका छैनन्।











