काठमान्डौं- अग्रज पत्रकार तथा सामाजिक अभियन्ता नवराज बजगाईले यस वर्ष पनि आफ्नो जन्मदिन असहाय तथा वृद्धवृद्धासँग मनाउँदै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन्।
काभ्रेको धुलिखेल–१२ स्थित मानव कल्याण समाजद्वारा सञ्चालित ‘सेवा घर’ मा आश्रित ६० भन्दा बढी वृद्धवृद्धा तथा असहायलाई भोजन गराउनुका साथै खाद्यान्न, लत्ताकपडा र सरसफाइ सामग्री हस्तान्तरण गर्दै उनले जन्मदिन मनाएका हुन्।








असार १८ गते परेको आफ्नो जन्मदिन तथा असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारेर बजगाईले सेवा घरलाई चामल, आटा, दाल, तेल, नुन, मसला, चिनी, चियापत्ती, गेडागुडी, चिउरा, मस्यौरा, साबुन, डेटोल, मञ्जन, फिनेल, सरफ, फलफूल, बिस्कुटलगायत आवश्यक सामग्री सहयोग गरेका थिए।
सामग्री हस्तान्तरण गर्दै पत्रकार बजगाईले जन्मदिनलाई केवल व्यक्तिगत उत्सव नभई समाजप्रति उत्तरदायित्व निभाउने अवसरका रूपमा लिँदै आएको बताए। आफूले सुरु गरेको यो अभियानबाट प्रेरित भएर धेरैले जन्मदिन सामाजिक सेवामा समर्पित गर्न थालेको देख्दा खुशी लागेको उनले बताए।


कार्यक्रममा धुलिखेल–१२ का वडा अध्यक्ष मोहनप्रसाद लामिछानेले सेवा केन्द्र सञ्चालनमा सहयोगी मन भएका व्यक्तिहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै स्थानीय सरकारबाट पनि जग्गा र भवन उपलब्ध गराइएको जानकारी दिए।
सामाजिक अभियन्ता राजन अधिकारी, समाजसेवी बोधनाथ बजगाई, रुपेश काफ्ले तथा सञ्चारकर्मी अरविन्द्र गौतम र राज तिमल्सिनालगायतले बजगाईको सामाजिक कार्यको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए।



मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंका अनुसार संस्थाले देशभर सात वटा सेवा केन्द्रमार्फत करिब ३०० असहायको संरक्षण गरिरहेको छ। धुलिखेलस्थित सेवा घरमा मात्रै हाल ६० जना आश्रित रहेका छन्। सडक तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताइरहेका व्यक्तिहरूको उद्धार, संरक्षण र पुनःस्थापनाका लागि नौ वर्षअघि स्थापना भएको यो सेवा केन्द्रमा पत्रकार बजगाईले प्रत्येक वर्ष जन्मदिन मनाउँदै सहयोग गर्दै आएका छन्।











