
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसद्को घट्दो स्तरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सांसदहरूलाई आफ्नै व्यवहार, भाषा र पोशाक सुधार्न कडा आग्रह गरेकी छन्।
६८औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गौतमले “पहिलाको तुलनामा अहिलेको संसद्को गुणस्तर खस्किएको” भन्ने जनगुनासो सत्यतर्फ संकेत गर्दै अब सांसदहरूले आत्मसमीक्षा गर्नुपर्ने बताइन्।



उनले संसद् जनताको सर्वोच्च संस्था भएकाले त्यसको गरिमा जोगाउने जिम्मेवारी सांसदकै काँधमा रहेको स्पष्ट पारिन्। संसद्मा प्रयोग हुने भाषा, व्यवहार, उच्चारण गर्ने शब्ददेखि लगाउने पोशाकसम्म मर्यादित हुनुपर्ने उल्लेख गर्दै उनले सांसदहरू स्वयं अनुशासित नभएसम्म संसद्को प्रतिष्ठा जोगिन नसक्ने चेतावनी दिइन्।
मन्त्री गौतमले प्रक्रियागत र प्राविधिक विवादहरू सदनबाहिर अनौपचारिक छलफलबाटै समाधान गर्नुपर्ने बताउँदै संसद्को बहुमूल्य समय केवल जनताका शिक्षा, स्वास्थ्य, विकास र अन्य जनसरोकारका विषयमा केन्द्रित हुनुपर्ने धारणा राखिन्।
जनताले तिरेको करबाट राज्य सञ्चालन हुने र सांसदहरूको सेवा–सुविधा पनि त्यही करबाट चल्ने भएकाले सदनको एक–एक मिनेट जनताको हितमा खर्चिनुपर्ने उनको भनाइ थियो।
उनको अभिव्यक्तिलाई संसद्को घट्दो मर्यादा र प्रभावकारिताप्रति आएको स्पष्ट चेतावनीका रूपमा हेरिएको छ।
तपाईको प्रतिक्रिया !










