जलवायुमैत्री प्रविधिमार्फत धानमा आत्मनिर्भरता अभियान, हेलम्बुमा २३औँ धान दिवस मनाइयो “स्थानीयको अगुवाइमा अनुकूलनका असल अभ्यास प्रवद्र्धन कार्यक्रम अन्र्तगत “ जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने नारासहित २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर ६ थापाटारमा सम्पन्न भएको छ ।
इच्छेश्वरी महिला बचत तथा कृषक समूहको आयोजना, हेलम्बु गाउँपालिकासँगको समन्वय तथा जस्ट नेपाल फाउन्डेसनको आर्थिक सहयोग र ली–बर्डको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय कृषक, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सामूहिक रूपमा धान रोपाइँ गर्दै परम्परागत कृषि संस्कृतिको संरक्षणसँगै आधुनिक तथा जलवायुमैत्री कृषि प्रविधिको प्रवद्र्धनमा जोड दिएका थिए । रोपाइँ कार्यक्रममा हेलम्बु गाउँपालिका वडा नं. ६ का अध्यक्ष सञ्चबहादुर तामाङले स्थानीय रैथाने बाली तथा बीउबिजनको संरक्षण र प्रवद्र्धन गाउँपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले स्थानीय स्तरमा पाइने धानका जातहरूको संरक्षण गर्दै उत्पादन वृद्धि र कृषकको आयआर्जन बढाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उल्लेख गर्नुभयो । उहाँले रैथाने बीउबिजनको संरक्षणसँगै अन्य उन्नत जातका धानलाई पनि प्रवद्र्धन गर्ने र्र कृषि क्षेत्रलाई थप व्यवसायिक र आत्मनिर्भर बनाउने प्रयास भइरहेको बताउनुभयो ।
जलवायु परिवर्तनका चुनौतीलाई सामना गर्न स्थानीय अनुकूल प्रविधिको प्रयोग अपरिहार्य रहेको अध्यक्ष तामाङले बताउनुभयो । कार्यक्रमका आयोजकका अनुसार यस वर्ष हेलम्बुका ६ वटा स्थानीय तथा बाहिरबाट ल्याइएका ८ वटा गरी जम्मा १४ थरीका धानका जात रोपिएका छन् । ती धानका जातको उत्पादन, परीक्षण र विस्तार गरी आगामी दिनमा स्थानीय कृषकहरूलाई वितरण गर्ने योजना रहेको जनाइएको छ । कार्यक्रममा इच्छेश्वरी महिला बचत तथा कृषक समूहकी अध्यक्ष राधिका दंगालले कृषकको हितका लागि कृषि बिमालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले कृषि पेशालाई बाध्यता नभई रहर र सम्मानको पेशाका रूपमा अंगाल्ने वातावरण राज्यले सिर्जना गर्नुपर्ने बताउनुभयो ।
धान दिवसको अवसरमा सहभागीहरूले बाजागाजासहित परम्परागत शैलीमा हिलो खेल्दै सामूहिक रोपाइँ गरेका थिए । असारे संस्कृति, कृषि परम्परा र सामुदायिक एकताको झल्को दिने गरी मनाइएको धान दिवसले कृषि संरक्षण र धान उत्पादनमा आत्मनिर्भर बन्ने अभियानलाई थप उत्साह प्रदान गरेको थियो । कार्यक्रममा सहभागी कृषकहरूले स्थानीय बीउ संरक्षण, जलवायुमैत्री खेती प्रणाली र कृषि उत्पादन वृद्धिका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए ।












