सिन्धुपाल्चोक-बागमती प्रदेशका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको प्रथम प्रदेशस्तरीय भेला सिन्धुपाल्चोकको मेलम्चीमा सम्पन्न भएको छ। भेलाले स्थानीय सरकारलाई थप प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउने उद्देश्यसहित १० बुँदे ‘मेलम्ची प्रतिबद्धता पत्र’ जारी गरेको छ।
मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य युवराज दुलाल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरसहित बागमती प्रदेशका विभिन्न स्थानीय तहका उपप्रमुख, उपाध्यक्ष, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।



भेलामा स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको भूमिका, अधिकार, जिम्मेवारी र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। साथै स्थानीय सरकार सञ्चालनका क्रममा देखिएका साझा चुनौती, अनुभव आदानप्रदान, अन्तरपालिका समन्वय तथा महिला नेतृत्वको सशक्तीकरणका विषयमा विशेष जोड दिइएको थियो।
संघीय शासन प्रणालीमा उपप्रमुख तथा उपाध्यक्षहरू न्यायिक समितिको संयोजक, सुशासन प्रवर्द्धन, सेवा प्रवाहको सहजीकरण तथा समावेशी विकासलाई संस्थागत गर्ने महत्वपूर्ण भूमिकामा रहेको उल्लेख गर्दै सहभागीहरूले यस्ता प्रदेशस्तरीय भेलाले अनुभव आदानप्रदान, साझा धारणा निर्माण, नीतिगत सुझाव संकलन तथा स्थानीय सरकारलाई थप प्रभावकारी बनाउने रणनीति तय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य युवराज दुलालले स्थानीय सरकारलाई नागरिकमैत्री, उत्तरदायी र प्रभावकारी बनाउन उपप्रमुख तथा उपाध्यक्षहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले यस्ता भेलाले स्थानीय तहबीच समन्वय, सहकार्य र सुशासन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीय शासन, न्यायिक समिति सञ्चालन, महिला नेतृत्वको सशक्तीकरण तथा स्थानीय विकासका समसामयिक विषयमा विभिन्न विषयगत सत्र सञ्चालन गरिएको थियो। छलफलबाट प्राप्त सुझाव र निष्कर्षलाई समेट्दै भेलाले १० बुँदे मेलम्ची प्रतिबद्धता पत्र जारी गर्दै कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।











