काठमाडौं-काठमाडौंको कोटेश्वर क्षेत्रमा यात्रु तानातान गर्दै सवारीसाधनमा सिट मिलाइदिने नाममा हैरानी दिएको आरोपमा प्रहरीले १० जना बिचौलियालाई पक्राउ गरेको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरू विभिन्न जिल्लाका रहेका छन्।



उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार पक्राउ परेकाहरूले जनकपुर, महोत्तरी लगायत पूर्वी क्षेत्रतर्फ जाने ईभी माइक्रो र सुमोमा यात्रु चढाइदिएबापत कमिसन लिने तथा यात्रुलाई अनावश्यक दबाब र हैरानी दिने गरेका थिए।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ।
कोटेश्वर क्षेत्रमा लामो समयदेखि बिचौलियाहरूको सक्रियताले यात्रुहरू समस्यामा पर्दै आएका थिए। प्रहरीले सार्वजनिक यातायात क्षेत्रमा हुने यस्ता गतिविधिमाथि निगरानी बढाउँदै कारबाहीलाई निरन्तरता दिने जनाएको छ।











