काठमाडौं – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सिन्धुपाल्चोकबाट सांसदसहित चार जनाले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद भरत पराजुली ले भूगोलतर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आगामी पुस्ताका लागि सकारात्मक राजनीतिक संस्कार स्थापित गर्ने उद्देश्यसहित आफू उम्मेदवार बनेको उनले बताएका छन्।



त्यसैगरी, पार्टी सभापति रवि लामिछाने सँग विभिन्न आन्दोलन तथा अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका प्रमोद न्यौपाने ले पनि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। केन्द्रीय सदस्यमा निर्वाचित भए पदाधिकारीमा समेत दाबी गर्ने उनको भनाइ छ। रास्वपाको समानुपातिक सूचीमा अग्रस्थानमा रहे पनि उनी सांसद बन्न भने सकेका थिएनन्।
यस्तै, प्रतिनिधिसभा क्षेत्र नं. २ का पूर्व उम्मेदवार अजय श्रेष्ठ ले पनि केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। साथै सनत अधिकारी ले समेत केन्द्रीय सदस्य पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।
रास्वपाको जारी महाधिवेशनमा केन्द्रीय नेतृत्व चयनका लागि देशभरबाट नेताहरूले उम्मेदवारी घोषणा गरिरहेका बेला सिन्धुपाल्चोकबाट चार जना नेताको प्रतिस्पर्धाले जिल्लाको राजनीतिक उपस्थिति थप बलियो देखिएको छ।











