
सिन्धुपाल्चोकको-सिन्धुपाल्चोकको मेलचौरस्थित इन्धन पम्पबाट पेट्रोल तथा डिजेल बिक्री बन्द भएको एक महिना बित्दा पनि समस्या समाधान हुन सकेको छैन। आन्तरिक कारोबारसम्बन्धी विवादका कारण इन्धन आपूर्ति रोकिएपछि स्थानीय बासिन्दा, सवारी चालक तथा व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
इन्धन अभावका कारण मेलचौर क्षेत्रका उपभोक्ताहरूलाई सुकुटे, जिरोकिलो लगायतका स्थानसम्म पुगेर इन्धन भर्न बाध्य हुनुपरेको छ। कतिपयले भने चौताराका केही पसलहरूबाट प्रतिलिटर २५० देखि २८० रुपैयाँसम्मको महँगो मूल्य तिरेर पेट्रोल खरिद गर्नुपर्ने अवस्था रहेको बताएका छन्।



स्थानीयवासीहरूले सम्बन्धित निकाय र प्रशासनले समयमै पहल नगर्दा समस्या झन् जटिल बन्दै गएको गुनासो गरेका छन्। उनीहरूका अनुसार इन्धन आपूर्ति सहज नहुँदा दैनिक आवतजावत, कृषि कार्य, व्यवसाय तथा अत्यावश्यक सेवासमेत प्रभावित भएका छन्।
यसबीच बजार मूल्यभन्दा अत्यधिक रकम लिएर पेट्रोल बिक्री गरिरहेको आरोप लागेका केही पसलहरूको विवरणसमेत सम्बन्धित निकायसम्म पुगेको बताइएको छ। तर हालसम्म अनुगमन तथा कारबाही प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न नसकेको स्थानीयहरूको भनाइ छ।
स्थानीयहरूले प्रशासन, नेपाल आयल निगम तथा सरोकारवाला निकायहरूलाई तत्काल सहजीकरण गरी मेलचौरमा नियमित इन्धन आपूर्ति सुनिश्चित गर्न माग गरेका छन्। अन्यथा समस्या अझै लम्बिने र सर्वसाधारणले थप सास्ती खेप्नुपर्ने अवस्था सिर्जना हुने उनीहरूको चेतावनी छ।
तपाईको प्रतिक्रिया !










