सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको समन्वयमा राष्ट्रिय समावेशी आयोगद्वारा आयोजित ‘स्थानीय स्तरमा समावेशिताको अवस्था तथा लक्षित वर्गको हकहितका विषयमा स्थानीय पहुँच’ सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले नगरपालिकाले सबै क्षेत्र, वर्ग, समुदाय तथा लिङ्गको आवश्यकतालाई आधार मानेर बजेट विनियोजन गर्दै आएको र आगामी दिनमा पनि समावेशिताको सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ्ने बताउनुभयो। उहाँले विकास र सेवाप्रवाहमा कुनै पनि समुदाय पछाडि नपर्ने गरी योजना तथा कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो।



कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्यहरू पुष्पराज तिमल्सिना र मनकुमार खत्रीले समावेशिताको वर्तमान अवस्था, लक्षित वर्गका अधिकार तथा स्थानीय तहमा सेवामा पहुँच विस्तारका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।
कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले स्वागत मन्तव्य व्यक्त गर्दै समावेशी विकास र समान अवसर सुनिश्चित गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।











