काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति (पीआर) लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ। मन्त्रालयमा कार्यरत दुई कम्प्युटर अपरेटर अध्ययन तथा असाधारण बिदाको अवधि समाप्त भइसकेपछि पनि कार्यालयमा हाजिर नभएको र विदेशमै बसोबास गरिरहेको पाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उनीहरूले विदेशी मुलुकको अस्थायी तथा स्थायी आवासीय अनुमति लिएको पुष्टि भएको छ। निजामती सेवा ऐन, २०४९ बमोजिम उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कारबाही अघि बढाउनुपर्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेश गर्न निर्देशन दिइएको छ।



यसैबीच मन्त्रालयले कार्यालयमा अनुपस्थित भई विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे समेत अध्ययन तथा खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ। मन्त्रालयले सरकारी सेवाको मर्यादा र कानुनी व्यवस्था पालना गराउन यस्ता गतिविधिमाथि निगरानी बढाइएको उल्लेख गरेको छ।











