हेटौँडा -बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका कार्यक्रम सञ्चालन गर्न ८ अर्ब ९० करोड ६१ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।
सोमबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ ले प्रदेशभित्र स्वच्छ खानेपानीको पहुँच विस्तार, बाह्रैमास सिँचाइ सुविधा विकास तथा ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि उक्त बजेट छुट्याइएको जानकारी दिनुभयो।



उहाँका अनुसार प्रदेश सरकारको प्राथमिकतामा सुरक्षित खानेपानी, कृषि उत्पादन वृद्धि गर्न सिँचाइ पूर्वाधार विस्तार तथा जलस्रोतको दिगो उपयोगमार्फत ऊर्जा विकास रहेका छन्। विनियोजित बजेटबाट प्रदेशका विभिन्न जिल्लामा खानेपानी, सिँचाइ तथा ऊर्जा सम्बन्धी योजनाहरू सञ्चालन गरिनेछ।
प्रदेश सरकारले कृषि उत्पादन वृद्धि, ग्रामीण क्षेत्रको जीवनस्तर सुधार तथा ऊर्जा क्षेत्रमा आत्मनिर्भरता बढाउने लक्ष्यसहित मन्त्रालयमार्फत विभिन्न कार्यक्रम कार्यान्वयन गर्ने जनाएको छ।
आगामी आर्थिक वर्षको बजेटले प्रदेशका नागरिकलाई स्वच्छ खानेपानी, भरपर्दो सिँचाइ सुविधा तथा ऊर्जा पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।











