
मेलम्ची -मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ ले नागरिकको मन र मस्तिष्कमा बस्न सक्ने व्यक्ति मात्र सफल जनप्रतिनिधि बन्न सक्ने बताउनुभएको छ।
मेलम्ची नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव संकलन, आर्थिक वर्ष २०८२/०८३ को हालसम्मको प्रगति समीक्षा, शैक्षिक पुरस्कार वितरण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला पक्षबाट प्राप्त राय–सुझावलाई आत्मसात गर्दै आगामी नीति तथा कार्यक्रम निर्माण गरिने तथा त्यसअनुसार बजेट विनियोजन गरिने बताउनुभयो।





उहाँले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधारलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर जनअपेक्षाअनुसारका कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो।कार्यक्रममा पूर्व जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाजका प्रतिनिधि तथा सरोकारवालाहरूले नगरपालिकाले अवलम्बन गर्नुपर्ने नीति, योजना र विकासका प्राथमिकताबारे सुझाव प्रस्तुत गरेका थिए।




कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधान ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र ले चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्मको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।
सो अवसरमा विभिन्न विधामा उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थी तथा व्यक्तित्वहरूलाई पुरस्कार तथा सम्मानसमेत प्रदान गरिएको थियो।
तपाईको प्रतिक्रिया !










