
मेलम्ची-पर्यटन कार्यालय काठमाडौंको आयोजनामा आइतबार मेलम्चीमा पर्यटन विकास तथा प्रवर्द्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले कृषिपछि विकासको प्रमुख आधार पर्यटन भएको बताउँदै मेलम्ची पर्यटकहरूको प्रवेशद्वारका रूपमा रहेकोले यहाँका पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। नेपाल प्राकृतिक सम्पदाले धनी देश भएकाले पर्यटकीय गन्तव्यहरूको प्रभावकारी प्रचारप्रसार आवश्यक रहेको उहाँको भनाइ थियो।



मेलम्ची नगरपालिका वडा नं. ११ का पूर्ववडाध्यक्ष रुद्रप्रसाद दुलालले स्थानीय पर्यटकीय गन्तव्यहरूको पहिचान र प्रचारप्रसारमार्फत बढीभन्दा बढी पर्यटक भित्र्याउनुपर्ने धारणा राख्नुभयो।
मेलम्ची उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर धितालले मेलम्चीमा आएका पर्यटकलाई केही समय रोक्न सकिने आकर्षक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले रेन्जपोस्ट रहेको डिलदेखि पारिसम्म झोलुङ्गे पुल निर्माण गर्न सके पर्यटक आकर्षित गर्न सहयोग पुग्ने बताउनुभयो।
रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले स्थानीय भाषा, कला र संस्कृतिको संरक्षणलाई पर्यटनसँग जोड्नुपर्ने बताउँदै संग्रहालय र कोसेली घर स्थापना गर्नुपर्ने सुझाव दिनुभयो।
पर्यटन कार्यालय काठमाडौंका प्रमुख पवन पोख्रेलले कार्यालयले पर्यटकीय क्षेत्रहरूको अभिलेखीकरण तथा प्रवर्द्धनका लागि काम गरिरहेको जानकारी दिनुभयो। सीमित बजेटका बाबजुद समुदायसँगको सहकार्यमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै पर्यटन अधिकृत यज्ञबहादुर ओलीले पर्यटन विकासका लागि सत्कार संस्कृतिको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। ग्रामीण पर्यटनको विकासमार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने उहाँको धारणा थियो।
अन्तरक्रियामा सहभागी पर्यटन व्यवसायी तथा सरोकारवालाहरूले मेलम्चीमा पर्याप्त पर्यटकीय सम्भावना रहेको उल्लेख गर्दै स्थानीय सरकारले थप सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले बजार क्षेत्रमा स्वच्छ खानेपानी र सार्वजनिक शौचालयको व्यवस्था, नियमित सरसफाइ तथा जीर्ण बनेको बगैँचा जोड्ने झोलुङ्गे पुलको तत्काल मर्मत गर्न माग गरेका छन्।
तपाईको प्रतिक्रिया !










