मेलम्ची — मेलम्ची नगरपालिका वडा नं. २ मा विभिन्न उमेर समूहका महिला तथा पुरुषबीच आयोजित दौड प्रतियोगिता सम्पन्न भएको छ। मेलम्ची नगरपालिकाको आर्थिक सहयोग तथा वडा नं. २ को आयोजनामा सम्पन्न प्रतियोगिताको उद्घाटन तथा समापन समारोह नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले खेलकुद क्षेत्रको विकास नगरपालिकाको प्राथमिकतामा रहेको बताउँदै आगामी आर्थिक वर्षमा खेलकुद पूर्वाधार निर्माण, प्रतिभा विकास तथा विभिन्न प्रतियोगिताका लागि थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले खेलकुदले युवालाई स्वस्थ, अनुशासित, आत्मविश्वासी तथा जिम्मेवार नागरिक बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले नगरपालिकाले यस क्षेत्रमा निरन्तर लगानी गर्दै आएको उल्लेख गर्नुभयो।



कार्यक्रममा विशेष अतिथि मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधान लगायत जनप्रतिनिधि, खेलप्रेमी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगितामा महिला तथा पुरुष दुवै समूहबीच रोमाञ्चक र प्रतिस्पर्धात्मक दौड सम्पन्न भएको आयोजकले जनाएको छ।
१६–२५ वर्ष उमेर समूह (पुरुष) तर्फ सबिन तामाङ प्रथम, अनुप तामाङ द्वितीय, रोशन तामाङ तृतीय तथा रुपक दुलाल सान्त्वना स्थान हासिल गर्न सफल भए। महिला तर्फ नबिना बजगाईं प्रथम, मनिषा तामाङ द्वितीय र रोजनी पौडेल तृतीय भइन्।
त्यसैगरी, २६–४० वर्ष उमेर समूह (पुरुष) तर्फ बलराम खतिवडा प्रथम, दीपक दुलाल द्वितीय, राजु तामाङ तृतीय तथा विनोद तामाङ सान्त्वना स्थान हासिल गर्न सफल भए। महिला तर्फ संगीता दुलाल प्रथम, सञ्चिता तामाङ द्वितीय, निर्मला तामाङ तृतीय तथा अनिसा सान्त्वना स्थान हासिल गर्न सफल भइन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिएको थियो। विजेता धावकहरूलाई नगर प्रमुख तामाङले पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।
वडा अध्यक्ष नगेन्द्र प्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेलाडी, युवायुवा तथा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद संस्कृतिको विकास, नयाँ प्रतिभाको पहिचान तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।











