सिन्धुपाल्चोक — आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नियन्त्रण, स्तनपान प्रवर्द्धन तथा लागूऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मेलम्चीमा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा मेलम्ची नगरपालिकाको सहआयोजनामा सम्पन्न कार्यक्रममा मातृ तथा शिशु स्वास्थ्य, स्तनपानको महत्व, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको अनियन्त्रित प्रचारप्रसार तथा बिक्री–वितरण नियन्त्रणका कानुनी पक्ष र लागूऔषध दुर्व्यसन नियन्त्रणका विषयमा विस्तृत छलफल गरिएको थियो।



मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै उहाँले स्तनपान सन्तानको नैसर्गिक अधिकार भएकाले यसको हनन हुन नहुने बताउनुभयो। चिकित्सकको सल्लाहअनुसार अत्यावश्यक अवस्थामा मात्र आमाको दूधलाई प्रतिस्थापन गर्ने सामग्री प्रयोग गर्नुपर्ने उल्लेख गर्दै व्यवसायीहरूलाई पनि यस्ता सामग्री बिक्री गर्दा जिम्मेवार बन्न आग्रह गर्नुभयो। साथै, लागूऔषध दुर्व्यसन न्यूनीकरणका लागि घर–घरबाटै सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा सिन्धुपाल्चोककी जिल्ला न्यायाधिवक्ता भगवतीदेवी गौतमले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ सम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी गराउनुभयो। मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले लागू पदार्थको प्रयोगले व्यक्ति, परिवार र समाजमा गम्भीर नकारात्मक असर पार्ने भएकाले यसको न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो।
जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले आमाको दूध नवजात शिशुका लागि सबैभन्दा सुरक्षित, पोषणयुक्त र जीवनरक्षक आहार भएको उल्लेख गर्दै शिशु जन्मिएको एक घण्टाभित्र स्तनपान सुरु गर्नुपर्ने तथा कम्तीमा छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्ने विश्व स्वास्थ्य संगठनको सिफारिस रहेको जानकारी दिनुभयो। उहाँले स्तनपानले शिशुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै कुपोषण, संक्रमण तथा अन्य स्वास्थ्य समस्याबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नियन्त्रण ऐन, २०४९ बनेको लामो समय भए पनि यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सबै सरोकारवाला पक्षलाई कानुनी व्यवस्था पालना गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागी वक्ताहरूले आमाको दूधको महत्वबारे समुदायस्तरसम्म व्यापक जनचेतना फैलाउनुपर्ने, शिशुको स्वस्थ भविष्यका लागि स्तनपानलाई प्राथमिकता दिनुपर्ने तथा लागूऔषध दुर्व्यसनविरुद्ध समाजका सबै तह र तप्काले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।
अन्तरक्रिया कार्यक्रममा मेलम्ची नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षाकर्मी, जनस्वास्थ्य कार्यालय तथा विभिन्न सरकारी एवं गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको जनस्वास्थ्य अधिकृत साहारा सापकोटाले जानकारी दिनुभयो।











