सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिका र भक्तपुरको दुवाकोटस्थित Kathmandu Medical College (KMC) बीच नगरवासीलाई स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत प्रदान गर्ने महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ।
गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुर्याउने तथा उपचारका क्रममा पर्ने आर्थिक भार कम गर्ने उद्देश्यले गरिएको उक्त सम्झौताबाट बाह्रबिसे नगरपालिका क्षेत्रका नागरिकहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।



सम्झौताअनुसार बाह्रबिसे नगरपालिकाका बिरामीहरूले काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराउँदा २०८३ साल चैत ३० गतेसम्म विभिन्न स्वास्थ्य सेवामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। त्यसपछि २०८३ चैत ३० गतेपछिदेखि २०८४ असार ३० गतेसम्म २५ प्रतिशत छुट उपलब्ध गराइने व्यवस्था गरिएको छ।
सम्झौताअन्तर्गत OPD दर्ता निःशुल्क, सामान्य बेड शुल्कमा २५ प्रतिशत छुट, क्याबिन शुल्कमा १० प्रतिशत छुट तथा ICU, HDU, CCU र शल्यक्रिया (OT) सेवा शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिनेछ। त्यसैगरी ल्याब परीक्षण, CT Scan, MRI, X-Ray, USG, Dental X-Ray, OPG, ECG, Endoscopy, Colonoscopy, ECHO, TMT, Holter, ABPM, EEG, NCT, NST लगायतका विभिन्न डायग्नोस्टिक सेवामा पनि २५ प्रतिशत छुट उपलब्ध हुनेछ।
Physiotherapy, Dental Treatment (सामग्री खर्च बाहेक), ERCP तथा MRCP सेवामा समेत २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।
सम्झौतामा सामाजिक सुरक्षा कोष तथा स्वास्थ्य बीमामा आबद्ध बिरामीलाई प्राथमिकताका साथ सेवा प्रदान गरिने उल्लेख छ। नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, विपन्न नागरिक उपचार कोष, ज्येष्ठ नागरिक तथा अन्य सरकारी स्वास्थ्य कार्यक्रमबाट प्राप्त सुविधा उपयोग गरिसकेपछि मात्र सम्झौताअनुसारको थप सहुलियत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
२०८३ असार १९ गतेदेखि लागू भएको यो सम्झौता २०८४ असार ३० गतेसम्म प्रभावकारी रहनेछ। आवश्यकता र प्रभावकारिताका आधारमा दुवै पक्षको सहमतिमा सम्झौता नवीकरण तथा परिमार्जन गर्न सकिने प्रावधान पनि राखिएको छ।
नगर प्रमुख बालकृष्ण बस्नेत तथा वडा नं. ८ का अध्यक्ष बिमल पौडेल र वडा नं. ३ का अध्यक्ष जीवन भण्डारीको नेतृत्वमा सम्पन्न उक्त सम्झौताले बाह्रबिसे नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच दिलाउने, उपचार खर्चमा राहत पुर्याउने तथा स्वास्थ्य क्षेत्रमा नगरपालिकाको प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।
“स्वस्थ नागरिक, समृद्ध बाह्रबिसे” निर्माणको अभियानमा यो सम्झौता नगरपालिकाका लागि एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।











