
काठमाडौं, जेठ २३ — नेपाली कला, संस्कृति तथा संगीत क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको काव्य म्युजिक सेन्टर र दक्षिणकाली अफसेट प्रेसको प्रस्तुतिमा आयोजित पाँचौं काव्य म्युजिक अवार्ड–२०८३ भव्य रूपमा सम्पन्न भएको छ।
नेपाल चलचित्र विकास बोर्ड, चाबहिलस्थित हलमा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।





कार्यक्रमको शुभारम्भ काव्य म्युजिक अवार्डको लोगो (सिल) अनावरणसँगै गरिएको थियो। कार्यक्रमको सञ्चालन शिवराम भण्डारीले गर्नुभएको थियो भने अतिथिहरूलाई स्वागत रमेश श्रेष्ठले गर्नुभएको थियो। बालकलाकार विशेषता महर्जनले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा स्वर्गीय वरिष्ठ चलचित्र अभिनेता सुनिल थापाको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। उहाँको स्मृतिमा चलचित्र क्षेत्रका चार विशिष्ट व्यक्तित्वलाई विशेष सम्मान प्रदान गरिएको थियो। यस अवसरमा वरिष्ठ चलचित्रकर्मी सुशील पोखरेलले सुनिल थापाको योगदान स्मरण गर्दै उहाँको नाममा सम्मान स्थापना हुनु खुसीको विषय भएको बताउनुभयो।
सांगीतिक प्रस्तुतिअन्तर्गत डिजराज पौडेल र आशा लामा ज्ञानमालाले ‘तिनपानेको झोल’ गीत प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो भने नितु सिंह ठकुरी र अनु ठाकुरको आकर्षक नृत्यले कार्यक्रमलाई थप रौनक बनाएको थियो।
कार्यक्रमको सभापतित्व काव्य म्युजिक सेन्टरकी अध्यक्ष सुजिता आचार्यले गर्नुभएको थियो। कार्यक्रममा गोकर्णेश्वर नगरपालिका, चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिका, टोखा नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, शिवपुरी गाउँपालिका लगायत विभिन्न स्थानीय तह तथा संस्थाहरूले सहयोग गरेका थिए।
विभिन्न सम्मान तथा अवार्ड प्रदान
कार्यक्रममा स्वर्गीय सुनिल थापाको सम्झनामा प्रदान गरिएको काव्य चलचित्र खलनायक सम्मानबाट सुशील पोखरेल, मुकुन्द थापा, विजय देउजा र उमेश खड्का सम्मानित हुनुभयो।
त्यसैगरी जनप्रतिनिधि सम्मानअन्तर्गत गोकर्णेश्वर नगरपालिकाका मेयर दीपककुमार रिसाल, मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका उपमेयर रमेश बुढाथोकी लगायतलाई सम्मान गरिएको थियो।
संस्थागत तथा समाजसेवी सम्मान अन्तर्गत आँसु स्मृति प्रतिष्ठान, बालज्योति पाठशाला, ॐ दिव्य मातृभूमि नेपाल, राजन भुजेल, वीरबहादुर भण्डारी लगायत विभिन्न संस्था तथा व्यक्तित्व सम्मानित भएका थिए।
सञ्चारकर्मी सम्मानतर्फ राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल उपत्यका समन्वय समिति, सञ्चारकर्मी अरविन्द्र गौतम तथा सञ्चारकर्मी दिनेश भण्डारी सम्मानित हुनुभयो।
यसैगरी कला, संगीत, अभिनय, मोडलिङ, निर्देशन, गीत–संगीत तथा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने दर्जनौँ कलाकार, सर्जक, गायक–गायिका, मोडल तथा प्राविधिकहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।
अवार्डका प्रमुख विधाहरूमा उत्कृष्ट म्युजिक भिडियो निर्देशक, उत्कृष्ट गायक–गायिका, उत्कृष्ट मोडल, उत्कृष्ट गीतकार, संगीतकार, छायाकार, मेकअप आर्टिस्ट, लोकदोहोरी कलाकार, आधुनिक गीत–संगीत तथा जुरी अवार्डहरू समावेश रहेका थिए।
कार्यक्रममा सहभागी कलाकार, स्रष्टा तथा अतिथिहरूले नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवर्द्धनमा यस्ता अवार्ड कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।
पाँचौं काव्य म्युजिक अवार्ड–२०८३ नेपाली कला र सांगीतिक क्षेत्रका प्रतिभाहरूलाई सम्मान गर्दै सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।



तपाईको प्रतिक्रिया !










