काठमाडौं – नापी विभागले जग्गासम्बन्धी सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल को उपस्थितिमा एप सार्वजनिक गरिएको हो।
एपमार्फत नागरिकले नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनलगायतका सेवाका लागि घरमै बसेर अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दर्तापछि प्राप्त हुने ओटीपी (OTP) प्रयोग गरी सेवाग्राहीले आफ्नो निवेदनको अवस्था नियमित रूपमा अनुगमन गर्न सक्ने व्यवस्था गरिएको छ।



नापी विभागका अनुसार एपमा ई–सेवा, खल्ती र कनेक्ट आईपीएसमार्फत राजस्व भुक्तानी गर्ने सुविधा पनि समावेश गरिएको छ। फिल्ड रेखांकन सेवाका लागि आवश्यक शुल्कसमेत अनलाइनबाटै तिर्न सकिनेछ।
एपमार्फत सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीहरूको सम्पर्क विवरणसमेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। एन्ड्रोइड प्रयोगकर्ताले गुगल प्ले स्टोरबाट ‘मेरोकित्ता’ एप डाउनलोड गर्न सक्नेछन् भने आईओएस प्रयोगकर्ताले एप्पल एप स्टोरमा ‘NITC, Government of Nepal’ खोजेर ‘Mero Kitta’ एप डाउनलोड गर्न सक्नेछन्।
नापी विभागले ‘मेरोकित्ता’ सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध रहेको जनाएको छ। यस एपको प्रयोगले जग्गासम्बन्धी सेवामा नागरिकको पहुँच बढ्नुका साथै समय र खर्चको बचत हुने अपेक्षा गरिएको छ।











