सिन्धुपाल्चोक-मेयर कप खुला कराते प्रतियोगिता : चौतारा टिम च्याम्पियन मेलम्ची नगरपालिकाको आयोजनामा सम्पन्न दोस्रो मेयर कप खुला कराते प्रतियोगिताको उपाधि चौतारा टिमले जितेको छ। दुई दिनसम्म चलेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै चौताराले सर्वाधिक स्वर्ण पदक हात पारेर टिम च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगितामा काठमाडौंको टोखा नगरपालिका वादोकाइ कराते दोस्रो स्थान हासिल गर्दै उपविजेता बनेको छ भने काभ्रे तेस्रो स्थानमा रहन सफल भएको छ।
विभिन्न जिल्लाका खेलाडीबीच भएको प्रतिस्पर्धात्मक खेलले कराते खेलप्रति युवापुस्ताको बढ्दो आकर्षणलाई समेत उजागर गरेको छ । टिम फाइटतर्फ पुरुष समूहमा टोखा नगरपालिका वादोकाइ कराते प्रथम बनेको छ। महिलातर्फको टिम फाइटमा काभ्रे प्रथम, चौतारा द्वितीय तथा हेलम्बु र मेलम्ची संयुक्त रूपमा तृतीय स्थानमा रहेका छन् । टिम च्याम्पियन बनेको चौताराले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता टोखा नगरपालिका वादोकाइ करातेले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा तृतीय बनेको काभ्रेले २० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको आयोजकले जनाएको छ ।



मेलम्चीमा आयोजित प्रतियोगितामा काभ्रे, मकवानपुर, काठमाडौं (टोखा), बाह्रबिसे, मेलम्ची, चौतारा र हेलम्बुबाट आएका २ सय २९ खेलाडीहरूको सहभागिता रहेको थियो । विभिन्न तौल समूह र विधामा भएको प्रतिस्पर्धाले खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको प्रतियोगिता संयोजक सानुबाबु गिरिले जानकारी दिनुभयो । प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले खेलकुदले अनुशासन, आत्मविश्वास र स्वस्थ जीवनशैली निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले मेयर कप प्रतियोगिताले स्थानीय तहमा कराते खेलको विकास, विस्तार र प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै नयाँ प्रतिभाको पहिचान गर्न समेत महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
मेयर तामाङले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै नगरपालिकाले आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न आवश्यक वातावरण निर्माणमा नगरपालिका सकारात्मक रहेको उल्लेख गर्नुभयो । स्थानीय तहको पहलमा आयोजित प्रतियोगिताले सिन्धुपाल्चोकमा कराते खेलको विकास र खेल पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक सन्देश दिएको सहभागी खेलाडी तथा प्रशिक्षकहरूले बताएका छन् । प्रतियोगिताले खेलाडीहरूबीच अनुभव आदानप्रदान, प्रतिस्पर्धात्मक भावना विकास तथा खेलमैत्री सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको गिरिले बताउनुभयो ।











