सिन्धुपाल्चोक-प्रतिनिधिसभा सदस्य माननीय भरत प्रसाद पराजुलीले बागमती प्रदेश सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री कृष्ण कुमार तामाङ तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सँग सिन्धुपाल्चोक जिल्लाका विकास आयोजना, बजेट व्यवस्थापन तथा तीन तहका सरकारबीचको समन्वयका विषयमा छलफल गर्नुभएको छ।
प्रदेश मन्त्रालय हेटौँडामा भएको भेटवार्तामा सांसद पराजुलीले खानेपानी, ढल तथा सरसफाइका आयोजना, नदी कटान नियन्त्रण, सिँचाइ पूर्वाधार लगायतका जनजीविकासँग प्रत्यक्ष सम्बन्धित योजनाका लागि आवश्यक बजेट व्यवस्थापन र कार्यान्वयनका विषयमा मन्त्री कृष्ण कुमार तामाङसँग विस्तृत छलफल गर्नुभयो।



त्यसैगरी मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँगको भेटमा सिन्धुपाल्चोक क्षेत्र नं. १ अन्तर्गतका विविध विकास योजनाका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन, प्रदेश तथा संघीय सरकारबीचको सहकार्य, र स्थानीय तहसँगको समन्वयमार्फत विकास निर्माणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल भएको जनाइएको छ।
सांसद पराजुलीले जिल्लाको समग्र विकास, पूर्वाधार विस्तार तथा जनताको आवश्यकता सम्बोधन हुने योजनाहरूलाई प्राथमिकतामा राखेर बजेट सुनिश्चित गर्न पहल जारी रहने बताउनुभयो। साथै उहाँले विकास निर्माणका विषयमा सकारात्मक सहयोग र प्रतिबद्धता व्यक्त गर्नुभएकोमा मुख्यमन्त्री बानियाँ तथा मन्त्री तामाङप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
छलफलमा सिन्धुपाल्चोकको दिगो विकास, खानेपानी तथा सिँचाइ सेवाको विस्तार, नदी नियन्त्रण, सरसफाइ व्यवस्थापन र स्थानीय आवश्यकताअनुसारका योजनाहरूलाई आगामी बजेटमा समेट्ने विषयमा विशेष जोड दिइएको थियो।











