सिन्धुपाल्चोक- पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई उत्तीर्ण १४४ विद्यार्थी सम्मान पाँचपोखरी थाङपाल गाउँपालिकाले एसइई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । गाउँपालिकाभित्रका विद्यालयहरुबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका १४४ जना विद्यार्थीहरुलाई आज गाउँपालिकामा आयोजित एक कार्यक्रमका बिच सम्मान गरिएको शिक्षा शाखाका जीवन थापाले जानकारी दिनुभयो । कार्यक्रममा ए प्लस ल्याउने उत्कृष्ट ५ विद्यार्थी नगर १० हजार सहित सम्मानपत्र र अन्य विद्यार्थीलाई सम्मानपत्रले सम्मान सहित शुभकामना प्रदान गरिएको थापाले बताउनुभयो ।
साथै कक्षा ८का उत्कृष्ट ३ जना विद्यार्थीलाई समेत ५ हजार सहित सम्मान गरिएको गाउँपालिकाले जनाउको छ । शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरुको मनोबल उच्च बनाउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा जनप्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुको उपलब्धिको प्रशंसा गर्दै गाउँपालिकाले आगामी दिनमा समेत शिक्षा क्षेत्रमा आवश्यक सहयोग र प्रोत्साहनलाई निरन्तरता दिने जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष टासी लामाले शिक्षा नै समाज र राष्ट्र विकासको मुख्य आधार भएको बताउनुभयो ।



गत बर्ष जिल्ला प्रथम भएको पालिका यस बर्ष केहि विद्यालयको नतिजाका कारण दोस्रो हुनपरेकोमा चिन्ता ब्यक्त गर्दै कमजोर नतिजा भएका विद्यालयले आत्माआलोचना सहित सुधार गरेर जानुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै विद्यार्थीहरुको सफलताले गाउँपालिकालाई गौरवान्वित बनाएको बताउनुभयो । शिक्षा मन्त्रालयको निर्णयले विद्यार्थीको भविष्य माथी गम्भिर असर गरिररहेको उल्लेख गर्दै आइतबार विदा दिने सरकारको निर्णय तत्काल सच्याउन माग गर्नुभयो । सघिंय सरकारको निर्णय यहाँको भूगोल सुहाँउदो नभएको भन्दै आइतबार विद्यालय खोल्ने निर्णयबाट केहि विद्यालयका कारण गाउँपालिका पछि हटेको अध्यक्ष लामाले बताउनुभयो ।
गाउँपालिकाले गरेको निर्णय केहि विद्यालयको कारण कार्यान्वय गर्न नसकिएको प्रति अध्यक्ष लामाले रोस प्रकट गर्नुभयो । उहाँले विद्यार्थीहरुलाई केवल प्रमाणपत्रमा सीमित नभई व्यवहारिक ज्ञान, सीप र नैतिक शिक्षामा समेत ध्यान दिन आग्रह गर्नुभयो । गाउँपालिकाले आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक कार्यक्रम तथा छात्रवृत्ति व्यवस्थालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले विद्यार्थीहरुलाई बधाई दिँदै सफलतासँगै जिम्मेवारी पनि बढेको बताउनुभयो । उहाँले गाउँपालिकाले बालबालिका तथा युवाको क्षमता विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै विद्यार्थीहरुलाई आफ्नो लक्ष्य स्पष्ट बनाएर अघि बढ्न सुझाव दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेलले शिक्षा क्षेत्रमा गाउँपालिकाले निरन्तर लगानी गरिरहेको भन्दै विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक सामग्री तथा गुणस्तरीय शिक्षाका लागि गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा सम्मानित विद्यार्थीहरुले गाउँपालिकाबाट प्राप्त सम्मानले आफूहरुलाई थप उत्साहित बनाएको प्रतिक्रिया दिएका थिए । विद्यार्थीहरुले यस्तो सम्मानले आगामी अध्ययन यात्रामा अझ मेहनत गर्ने प्रेरणा मिलेको बताएका छन् । कार्यक्रममा उत्प्रेरणात्मक वक्ताका रुपमा सहभागी सौनक भट्टले विद्यार्थीहरुलाई लक्ष्य निर्धारण, समय व्यवस्थापन, आत्मविश्वास र सकारात्मक सोचका विषयमा प्रशिक्षणमूलक जानकारी दिनुभयो । उहाँले सफलताको लागि निरन्तर अभ्यास, धैर्यता र स्पष्ट लक्ष्य आवश्यक पर्ने बताउनुभयो ।
उहाँले मोबाइल तथा सामाजिक सञ्जालको अत्यधिक प्रयोगले विद्यार्थीहरुको अध्ययनमा असर पार्न सक्ने भन्दै समयको सही सदुपयोग गर्न सुझाव दिनुभयो । उहाँले विद्यार्थीहरुले पढाइसँगै नेतृत्व क्षमता, सञ्चार सीप र व्यवहारिक ज्ञान पनि विकास गर्नुपर्नेमा जोड दिनुभयो । गाउँपालिका सामाजिक विकास समितिका संयोजक काले गोलेको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सभाध्यक्ष गोलेले विद्यार्थीहरुको सफलता गाउँपालिकाको शैक्षिक प्रगतिसँग जोडिएको भन्दै सम्मान कार्यक्रमले विद्यार्थीहरुलाई थप जिम्मेवार र प्रेरित बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा शिक्षा क्षेत्रको विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।










