
काठमान्डौं- नेपालको झापा जिल्लाकी यमुना ढकाल वातावरण संरक्षण र शान्तिको सन्देश फैलाउँदै साइकल यात्रामार्फत भारतको पीलीभीत पुगेकी छन्। १०७ दिनमा करिब ५ हजार किलोमिटर दूरी पार गरेकी यमुनालाई स्थानीय वातावरणप्रेमी तथा सामाजिक अभियन्ताहरूले स्वागत गरेका छन्।
लुम्बिनीबाट सुरु भएको उनको साइकल यात्रा गोरखपुर, अयोध्या, मथुरा, वृन्दावन, दिल्ली, पंजाब, अमृतसर, वाघा बोर्डर, देहरादुन, ऋषिकेश, बद्रीनाथ, केदारनाथ र हरिद्वार लगायतका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थान हुँदै पीलीभीत पुगेको हो।



पीलीभीत टाइगर रिजर्भ नजिक उनले वृक्षारोपण गर्दै वातावरण संरक्षणका लागि बढीभन्दा बढी रुख रोप्न सबैलाई आग्रह गरिन्। बढ्दो गर्मी र बदलिँदो मौसमका कारण वातावरणीय संकट गहिरिँदै गएको भन्दै उनले वृक्षारोपण नै यसको प्रभावकारी समाधान भएको बताइन्।
यमुना ढकालले आफ्नो यात्राको मुख्य उद्देश्य नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै वातावरण संरक्षणप्रति जनचेतना फैलाउनु रहेको बताइन्।
भारतमा अन्तिम वृक्षारोपण पीलीभीतमा सम्पन्न गरेपछि उनी बनबासा हुँदै महेन्द्रनगर पुगेकी छन्। अबको साइकल यात्रा अन्य देशहरूमा गर्ने योजना रहेको बताउँदै उनले पहिलो यात्रा बिना विशेष तयारी सुरु गरेको भए पनि आगामी यात्राहरू थप तयारीका साथ अघि बढाउने बताइन्।









