काठमान्डौं-बागमती प्रदेशमा खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित तयार गरिएको विधेयक–२०८२ माथि सरोकारवालासँग महत्वपूर्ण छलफल गरिएको छ।
बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ को उपस्थितिमा आयोजित उक्त कार्यक्रममा प्रदेशस्तरीय सरोकारवाला निकाय, प्राविधिक, स्थानीय तहका प्रतिनिधि तथा विज्ञहरूको सहभागिता रहेको थियो।



छलफलका क्रममा प्रस्तावित विधेयकले प्रदेशभित्र खानेपानी तथा सरसफाइ सेवाको दिगो व्यवस्थापन, गुणस्तर सुधार र पहुँच विस्तारमा कसरी योगदान पुर्याउने भन्ने विषयमा व्यापक बहस गरिएको थियो। सहभागीहरूले विधेयकमा समेटिएका प्रावधानहरूलाई थप व्यावहारिक, जनमैत्री र प्रभावकारी बनाउन सुझाव दिएका थिए।
मन्त्री तामाङले प्रदेश सरकारले सुरक्षित खानेपानी र स्वच्छ सरसफाइलाई नागरिकको आधारभूत अधिकारको रूपमा सुनिश्चित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै सरोकारवालाबाट आएका सुझावलाई समेटेर विधेयकलाई परिमार्जन गरिने बताएका छन्।
उक्त विधेयक कार्यान्वयनमा आएपछि बागमती प्रदेशमा खानेपानी तथा सरसफाइ क्षेत्रको व्यवस्थापन अझ व्यवस्थित, पारदर्शी र दिगो हुने अपेक्षा गरिएको छ।







