सिन्धुपाल्चोक -मेलम्ची नगरपालिका भित्र विकास निर्माणका कामको गति र गुणस्तरबारे चासो राख्नु हुँदै नगरप्रमुख श्री आइतमान तामाङज्यू र निर्माण व्यवसायी बीच मंगलबार सार्थक संवाद भएको छ। प्रमुख तामाङको अध्यक्षतामा सम्पन्न छलफलमा दुवै पक्षले आफ्ना धारणा स्पष्ट राख्दै समाधान गर्ने प्रतिवद्वता गरेका छ।
प्रमुख तामाङले पछिल्लो समय विभिन्न योजनामा देखिएको ढिलासुस्ती र गुणस्तरसम्बन्धी जनगुनासो प्रति गम्भीर असन्तुष्टि व्यक्त गर्नु भयो। जनताको करबाट सञ्चालित योजनामा ढिलाइ र कमजोर गुणस्तर कदापि स्वीकार्य हुँदैन, वहाँले स्पष्ट शब्दमा भन्नु भयो, “तोकेको समयसीमा र सम्झौता अनुसार गुणस्तरीय काम सम्पन्न गर्नु निर्माण व्यवसायीको दायित्व हो। अन्यथा, कानुनअनुसार कारबाही गर्न नगरपालिका बाध्य हुने बताउनु भयो ।



छलफलमा सहभागी निर्माण व्यवसायीहरूले भने काममा ढिलाइ गर्ने मनसाय नरहेको प्रष्ट्याउँदै वर्तमान बजार परिस्थितिले चुनौती थपेको गुनासो ब्यक्त गर्यो । इन्धनको मूल्यवृद्धिसँगै ढुवानी खर्च र निर्माण सामग्रीको मूल्य आकासिएको छ, एक व्यवसायीले भने, यसले लागत र समय व्यवस्थापनमा असर पारेकोले नगरपालिकाबाट यथार्थ अवस्थालाई मध्यनजर गर्दै केही पुनरावलोकन गरिदिए सहज हुने अपेक्षा गरेको थियो ।
छलफलमा प्रमुख प्रशासकीय अधिकृत श्री निमेष मिश्रले नगरपालिका सेवा प्रवाहमा सहजीकरण गर्न सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै निर्माण कार्यको गति अत्यन्त सुस्त रहेको प्रति चिन्ता व्यक्त गर्नु भयो । हामीले प्रशासनिक प्रक्रिया छिटो र सरल बनाउने प्रयास गरेका छौँ, वहाँले भने, “तर कामको प्रगति सन्तोषजनक छैन। सम्झौता अनुसार तोकिएको समयभित्र काम सम्पन्न नभए यस आर्थिक वर्षमा म्याद थप गर्ने अवस्था नरहने बताउनु भयो। आज भएको दुवै पक्ष बीचको यो संवादले आगामी दिनमा विकास निर्माणका कामलाई समयमै र गुणस्तरीय रूपमा अघि बढाउने नगरपालिकाले अपेक्षा गरेको छ।







