सिन्धुपाल्चोक- पाँचपोखरी थाङपाल गाउँपालिकामा ‘पाँचपोखरी कोशीली घर’ उद्घाटन पाँचपोखरी थाङपाल गाउँपालिकामा सञ्चालनमा आएको ‘पाँचपोखरी कोशीली घर’को उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष टासी लामा,उपाध्यक्ष सुनिता असधकारी,प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईंकेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले कृषि क्षेत्रको समग्र अवस्थाबारे चर्चा गर्दै उत्पादन वृद्धि, बजारीकरण र आधुनिकीकरणमा अझै चुनौती रहेको बताउनुभयो ।
उहाँले किसानहरूले भोगिरहेको रासायनिक मलको अभावप्रति प्रदेश सरकारको भूमिका सीमित रहेको स्पष्ट पार्दै संघीय तहबाट नै आपूर्ति व्यवस्थापन हुने भएकाले प्रदेशले प्रत्यक्ष समाधान गर्न कठिनाइ हुने बताउनुभयो । मल अभावको विषय संघीय व्यवस्थासँग जोडिएकाले प्रदेशले सहजीकरण र समन्वय गर्ने काम गरिरहेको बताउनुभयो । त्यससँगै उहाँले स्थानीय तह तथा किसानहरूलाई कृषि क्षेत्रमा आवश्यक योजना र कार्यक्रमका लागि स्पष्ट माग अघि सार्न आग्रह गर्नुभयो ।कृषि क्षेत्र सुधारका लागि स्थानीय आवश्यकता पहिचान गरी योजनाबद्ध माग आए प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताउनुभयो ।



पाँचपोखरीको भौगोलिक अवस्था अनुसार मौसमी बाली, पशुपालन र पर्यटनसँग जोडिएको कृषि प्रणाली विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । विशेष अतिथि तथा गाउँपालिका अध्यक्ष टासी लामाले ‘कोशीली घर’ स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरणका लागि महत्वपूर्ण थलो बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले खाल्डेखोलामा दैनिक रूपमा अखाद्य वस्तुहरूको चेकजाँच गर्दै सुरक्षित उपभोग सुनिश्चित गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।
उहाँले स्थापना गरिएको सूचना केन्द्रमार्फत पाँचपोखरी क्षेत्रको पर्यटनसम्बन्धी विवरण, मार्गदर्शन र जानकारी उपलब्ध गराउँदै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने काम भइरहेको बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष सुनिता अधिकारी,प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईंकेल,वडा नम्बर १का अध्यक्ष आलोक कुमार स्याङ्बो,विभिन्न राजनितिक दलका प्रतिनिधि सरोकारवाला निकाय तथा स्थानियको उपस्थिति रहेको थियो । पाँचपोखरी कोसेलीघर सञ्चालक समितिका अध्यक्ष रेशम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण कर्मचारी कुमार बस्नेतले गर्नुभएको थियो ।







