काठमाडौं — त्रिभुवन विश्वविद्यालय का उच्च पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजाल ले एकैसाथ पद त्याग गरेका हुन्।
सरकारले अध्यादेशमार्फत उनीहरूलाई हटाउने तयारी गरिरहेको चर्चा चलिरहेका बेला आएको यो सामूहिक राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ। विश्वविद्यालयभित्र बढ्दो हस्तक्षेप र दबाबका कारण पदाधिकारीहरू राजीनामा दिन बाध्य भएको स्रोतहरूको दाबी छ।



शिक्षा क्षेत्रसँग सरोकार राख्ने प्राध्यापक तथा बुद्धिजीवीहरूले यस घटनालाई लोकतान्त्रिक मूल्य र संस्थागत स्वायत्ततामाथिको चुनौतीका रूपमा व्याख्या गरेका छन्। आफूलाई लोकतान्त्रिक र लोककल्याणकारी भन्ने सरकारकै दबाबमा विश्वविद्यालयका उच्च पदाधिकारीहरूले पद छाड्नुपरेको अवस्था लोकतन्त्रका लागि गम्भीर विडम्बना भएको टिप्पणी गरिएको छ।
यस घटनाले देशको उच्च शिक्षा प्रणाली, विश्वविद्यालयको स्वायत्तता र सरकार–शैक्षिक संस्थाबीचको सम्बन्धबारे पुनः बहस सुरु गराएको छ।







