सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका अन्तर्गत रहेको श्री गोल्मेश्वरी आधारभूत विद्यालय को ३७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८३ भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।
शिक्षा क्षेत्रको गुणात्मक उन्नयन र संस्थागत विकासप्रति प्रतिबद्धता अझ सुदृढ बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा नगर प्रमुख आइतमान तामाङ को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडाध्यक्ष किरणदीप खड्का, शिक्षा अधिकृत लक्ष्मी प्रसाद रिजाल लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।



विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई थप रोचक, प्रभावकारी र उपलब्धिमूलक बनाएको आयोजकले जनाएको छ।
कार्यक्रममा प्रस्तुत गरिएको विविध सांस्कृतिक प्रस्तुति, नृत्य तथा रचनात्मक गतिविधिहरूले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गराउनुका साथै अनुशासन र सिर्जनशीलताको सन्देश दिएको थियो। कार्यक्रमले शैक्षिक वातावरणमा सकारात्मक ऊर्जा थप्दै समुदाय र विद्यालयबीचको सम्बन्धलाई अझ मजबुत बनाएको विश्वास गरिएको छ।







