काठमाडौं -सरकारले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ। यातायात व्यवस्था विभाग ले सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा ५ प्रतिशतले वृद्धि गरिएको जनाएको हो।



विभागका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय को वैशाख १२ गतेको सैद्धान्तिक सहमतिपछि भाडादर समायोजन गरिएको हो। डिजेलको मूल्यमा उल्लेख्य वृद्धि भएपछि स्वचालित प्रणालीअनुसार भाडा बढाइएको विभागले स्पष्ट पारेको छ।
नयाँ भाडादर वैशाख १६ गतेदेखि लागू हुने जनाइएको छ। अन्तरप्रदेशीय रूपमा सञ्चालन हुने सार्वजनिक यातायातमा यो वृद्धि लागू हुनेछ। यात्रुवाहक सवारी तथा मालवाहक ट्रक (पहाड र तराई दुवै क्षेत्रमा) मा ५ प्रतिशतसम्म भाडा वृद्धि गरिएको हो।
यद्यपि, बढेको भाडा विद्युतीय सवारी साधनमा भने लागू नहुने विभागले जनाएको छ। इन्धनमा आधारित सवारी साधनको सञ्चालन खर्च बढेका कारण भाडा समायोजन गरिएको बताइएको छ।
विभागका अनुसार भाडा निर्धारण गर्दा डिजेलको औसत मूल्यमा उल्लेख्य वृद्धि भएको आधार लिइएको हो। अघिल्लो पटक चैत २५ गते पनि भाडा समायोजन गरिएको थियो। छोटो अवधिमै दोहोरिएको भाडा वृद्धिले यात्रु र ढुवानी क्षेत्रमा थप आर्थिक दबाब पर्ने अनुमान गरिएको छ।
सरकारले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ भएमा भाडा स्वतः समायोजन हुने व्यवस्था लागू गर्दै आएको छ। यसपटकको वृद्धि पनि सोही व्यवस्थाअनुसार गरिएको जनाइएको छ।







