
काठमाडौं — माइतीघर मण्डला मा धर्ना बसिरहेकी शोभा पाठकमाथि कुटपिट भएको छ। घटनापछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार आक्रमणमा संलग्न रहेको आरोपमा महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतसहित ७ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई हाल जिल्ला प्रहरी परिसर भद्रकाली मा राखेर अनुसन्धान भइरहेको छ।



प्राप्त जानकारी अनुसार पाठकले एमाले नेता बस्नेतमाथि गम्भीर आरोप लगाउँदै कारबाहीको माग गर्दै आएकी थिइन्। पछिल्लो समय विवादमा परेर राजीनामा दिएका पूर्व गृहमन्त्री सुधन गुरुङको पुनर्बहालीको मागसहित उनी माइतीघरमा धर्ना बस्दै आएकी थिइन्।
धर्नास्थलमै पुगेर बस्नेतकी श्रीमतीसहितको समूहले पाठकमाथि भौतिक आक्रमण गरेपछि केहीबेर क्षेत्र तनावग्रस्त बनेको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।






