सिन्धुपाल्चोकमा – मेलम्चीमा १२औँ जिल्ला स्तरीय राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजदेखि मेलम्चीमा सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको आयोजनामा भएको उद्घाटन समारोह समितिका अध्यक्ष रामकृष्ण दंगालको अध्यक्षतामा सम्पन्न भएको हो ।
विगतका वर्षहरूमा चौताराको टुँडिखेलमा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष पहिलोपटक मेलम्चीमा आयोजना गरिएको हो । प्रतियोगिता मेलम्चीमा आयोजना हुनुलाई स्थानीय जनप्रतिनिधिहरूले सकारात्मक रूपमा लिँदै खुसी व्यक्त गरेका छन् । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्चीमा यस्तो महत्वपूर्ण जिल्ला स्तरीय प्रतियोगिता आयोजना हुनु गौरवको विषय भएको उल्लेख गर्दै यसले स्थानीय स्तरमा खेलकुदको विकास, खेल पूर्वाधार विस्तार र नयाँ प्रतिभा पहिचानमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख उमा प्रधानले पनि प्रतियोगिता मेलम्चीमा हुनुले यहाँका खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरूमा नयाँ उत्साह थपिएको बताउनुभयो ।



कार्यक्रममा विभिन्न अतिथिहरूले खेलकुदलाई केवल जित–हारको प्रतिस्पर्धामा सीमित नराखी सिकाइ, अनुशासन र सहकार्यको माध्यमका रूपमा लिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गर्न प्रयास गर्न आग्रह गर्नुका साथै पराजयलाई निराशाको रूपमा नभई अनुभव र आगामी सफलताको आधारका रूपमा लिन सुझाव दिएका थिए । यस्तो दृष्टिकोणले खेलाडीको समग्र व्यक्तित्व विकासमा सहयोग पुग्ने उनीहरूको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले प्रतियोगिता मर्यादित, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न सबै पक्षलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले प्रशासनको तर्फबाट आवश्यक समन्वय र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
उक्त प्रतियोगितामा जिल्लाका १२ वटा स्थानिय तहहरु मध्य १० वटा स्थानीय तहको मात्रै सहभागिता रहेको आयोजकले जनाएको छ । एथलेटिक्स, भलिबल,कबड्डि,कराँते,उस्सु,लगायत विभिन्न विधाका खेलहरू समेटिएको प्रतियोगिता ११ गते सम्पन्न हुने समितिका अध्यक्ष दंगालले जानकारी दिनुभयो । प्रतियोगिताको पहिलो दिन आयोजित मार्चपास प्रतियोगितामा पाँचपोखरी थाङपाल गाउँपालिका प्रथम भएको छ भने अन्य पालिकाहरूले पनि आकर्षक प्रस्तुति दिएका थिए ।
जिल्ला स्तरीय यस प्रतियोगिताले स्थानीय स्तरमै खेलकुद गतिविधि विस्तार गर्नुका साथै ग्रामीण भेगबाट नयाँ खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । साथै, खेलमार्फत स्वस्थ जीवनशैली, अनुशासन र आपसी सद्भाव प्रवद्र्धन हुने विश्वास गरिएको आयोजकले जनाएको छ ।







