काठमाडौं — आज बैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने दिन देशभर श्रद्धा, सम्मान र भक्तिभावका साथ मनाइँदैछ। यस दिनलाई मातातीर्थ औँसी पनि भनिन्छ।
आजको दिन जीवित आमालाई मीठा परिकार, उपहार तथा नयाँ कपडा दिएर आशीर्वाद लिने चलन छ भने दिवंगत आमाको सम्झनामा मातातीर्थ लगायतका तीर्थस्थलमा स्नान, तर्पण र श्राद्ध गर्ने परम्परा रहेको छ।


विशेषगरी काठमाडौंको मातातीर्थ मा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ। आमाको सम्झनामा पूजा, दीप प्रज्वलन र तर्पण गर्नेहरूको उल्लेख्य उपस्थिति देखिएको छ।
नेपालको संस्कृति अनुसार आमालाई भगवानसरह मानिने भएकाले यो दिनलाई मातृ सम्मानको विशेष पर्वका रूपमा लिइन्छ। आमाप्रति सम्मान, माया र कृतज्ञता व्यक्त गर्ने अवसरका रूपमा यो पर्व मनाइँदै आएको छ।







