जनार्दन नेपाल/ सिन्धुपाल्चोक — करिब १०१ वर्षअघि राणाकालीन समयमा पूर्व–१ नम्बर सिन्धुपाल्चोक अन्तर्गत सानो सिरुवारी नेपानेका भद्रशिल धितालले स्थापना गरेको ऐतिहासिक सिद्देश्वर शिव मन्दिर पुनर्निर्माणको प्रक्रिया सुरु भएको छ। मन्दिर २०७२ सालको महाभूकम्पपछि जीर्ण अवस्थामा पुगेको थियो। सोही मन्दिर पुनर्निर्माणका लागि मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका–७ का वडाध्यक्ष डम्बरबहादुर तामाङ र वडा नं. १३ का वडाध्यक्ष रामप्रसाद गौतमले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।


करिब ४० लाख रुपैयाँ लागत अनुमान गरिएको मन्दिर निर्माणका लागि ७ आना जग्गा उपलब्ध गराइएको छ भने स्थानियरुबाट ४ लाख रुपैयाँ उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ। स्थानीय तहसँगको सहकार्यमा मन्दिर निर्माण गरिनेछ। मन्दिर स्थापना सम्बन्धी किंवदन्तीअनुसार भद्रशिल धितालले नौ दिनसम्म केरा र गाईको दूध मात्र सेवन गरी नदीमा स्नान गर्दै तपस्या गरेका थिए। त्यस क्रममा उनले बगरको सिलामा हात राख्दा उनका दशैँ औँलाका चक्रहरू सिलामा डोब बनेको विश्वास गरिन्छ।
मन्दिर क्षेत्रमा विशेषगरी बालाचतुर्दशीमा श्रद्धालुहरू व्रत बसी बत्ती बाल्ने र रातभर जाग्राम बस्ने परम्परा रहेको थियो। तर भूकम्पपछि मन्दिर भत्किएसँगै भक्तजनहरू सद्बिज छर्न मात्र आउने गरेका स्थानीय सुवास अर्यालले बताए। साविक सानो सिरुवारी र ठूला सिरुवारीको दोसाँधमा पर्ने मार्सेखोला दोभानस्थित उक्त मन्दिर पुनर्निर्माणका लागि स्थानीयस्तरबाट समेत सहयोगको आह्वान हरिबिक्रम नेपाल अध्यक्ष र नन्दलाल नेपाल सचिव रहेकाे निर्माण समितिले गरेको छ।







