धादिङ-पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको गजुरीमा प्रहरीले विशेष अप्रेसनमार्फत ठुलो परिमाणको लागुऔषध बरामद गरेको छ। आइतबार राति भएको विशेष चेकिङका क्रममा प्रहरीले २८६ किलो ४०० ग्राम गाँजा र २०० ग्राम अफिमसहित दुई जनालाई नियन्त्रणमा लिन सफल भएको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको बा ५ ख ७५३७ नम्बरको आइचर गाडीमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचना प्राप्त भएको थियो।
सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको विशेष टोलीले राति करिब १:५० बजे गजुरी बजारस्थित सडक खण्डमा उक्त सवारीलाई रोकेको थियो। प्रहरीले शंकास्पद अवस्थामा रहेको गाडीको पछाडि भागमा खानतलासी गर्दा त्रिपालले छोपेर राखिएको ९ वटा सेतो बोराहरू फेला पारेको थियो।


ती बोराहरू खोल्दा २८६ किलो ४०० ग्राम गाँजा र २०० ग्राम अफिम फेला परेको हो। घटनामा संलग्न भएको आरोपमा प्रहरीले गाडी चालक धादिङको निलकण्ठ नगरपालिका वडा नं. ८ बस्ने २२ वर्षीय अम्मर वि.क. र सह-चालक सिद्धलेक गाउँपालिका वडा नं. ५ बस्ने १९ वर्षीय होम बहादुर वि.क. लाई पक्राउ गरेको छ। प्रहरीले लागुऔषधका साथै ओसारपसारमा प्रयोग गरिएको आइचर गाडी र ४ थान मोबाइल समेत नियन्त्रणमा लिएको छ।
पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार यति ठुलो परिमाणको लागुऔषध कहाँबाट ल्याइएको र यसको मुख्य योजनाकार को हो भन्नेबारे प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान थालेको छ। धादिङ बाट केशव श्रेष्ठको रिपोर्ट







