
धादिङ — थाक्रे गाउँपालिका–११ महादेवबेसीमा ‘तेस्रो महादेवबेसी सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव २०८२/८३’ आगामी चैत २७ गतेदेखि सञ्चालन हुने भएको छ। उज्यालो भविष्य महिला समूहको मुख्य आयोजनामा हुने उक्त महोत्सव २०८३ वैशाख १३ गतेसम्म चल्नेछ।
“कृषि, पर्यटन र पूर्वाधार समुन्नत थाक्रेको मूल आधार” भन्ने मूल नारासहित आयोजना हुन लागेको महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। महोत्सवको व्यवस्थापन राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालले गर्नेछ। आयोजक संस्थाकी अध्यक्ष जमुना सुवेदीका अनुसार नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको यस महोत्सवले स्थानीय व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।




महोत्सवको प्रमुख आकर्षणका रूपमा देशका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ। गायक प्रकाश सपुत, पशुपति शर्मा, गायिका एलिना चौहान, ज्योति मगर र प्रीति आले लगायतका कलाकारहरूले दर्शकलाई मनोरञ्जन दिनेछन्। साथै, इन्द्रेणी टिम, जम्बुलिङ टिम तथा धादिङ जिल्लाका स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि समावेश हुने आयोजकले जनाएको छ।
महोत्सवमा स्थानीय कृषि उत्पादन, घरेलु तथा औद्योगिक वस्तुहरूको प्रदर्शनीलाई प्राथमिकता दिइनेछ। साथै, विभिन्न फुड स्टलमार्फत स्थानीय परिकारहरूको स्वाद लिन पाइनेछ भने व्यापार प्रवर्द्धनका लागि विभिन्न स्टलहरू पनि रहनेछन्।
थाक्रे गाउँपालिकाको आर्थिक विकासका लागि कृषि र पर्यटनलाई पूर्वाधारसँग जोड्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको जनाइएको छ। स्थानीय कला, संस्कृति संरक्षण तथा आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसमेत राखिएको छ।
करिब १७ दिनसम्म सञ्चालन हुने यस महोत्सवमा धादिङसहित छिमेकी जिल्लाहरूबाट ठूलो संख्यामा दर्शक सहभागी हुने अपेक्षा गरिएको छ।






