काठमाडौं-गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको विषयमा छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक हुनुअघि नै बुधबार बाहिरिएको छ।
उक्त प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ विरुद्ध फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको उल्लेख छ।


यसैगरी, आन्दोलनका क्रममा हेलचेक्र्याइँका कारण युवाहरूको ज्यान गएको ठहर गर्दै आयोगले तत्कालीन गृह सचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुत्तराज थापा तथा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविराज रिजाल लाई मुलुकी अपराध संहिताको दफा १८२ बमोजिम कारबाहीका लागि अभियोजन गर्न सिफारिस गरेको छ।
सरकारले औपचारिक रूपमा प्रतिवेदन सार्वजनिक नगरेको अवस्थामा नै बाहिरिएको यस दस्तावेजले राजनीतिक तथा प्रशासनिक वृत्तमा तरंग सिर्जना गरेको छ।







