
सिन्धुपाल्चोक-मेलम्ची नगरपालिका र घोराही उपमहानगरपालिकाबीच अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधान, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी तथा उपप्रमुख हुमा कुमारी डि.सी. सहभागी रहेका थिए।
भेटघाटका क्रममा विशेषगरी न्यायिक समितिको प्रभावकारी कार्यसम्पादनबारे विस्तृत छलफल गरिएको थियो। घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डि.सी.ले न्यायिक समितिमार्फत सम्पन्न उत्कृष्ट कार्यहरू, विवाद समाधानका सफल अभ्यासहरू तथा सेवाग्राहीमैत्री कार्यशैलीबारे जानकारी गराउनुभयो। स्थानीय तहमा न्यायिक पहुँच सहज बनाउन अपनाइएका उपायहरू उदाहरणीय रहेको उहाँको भनाइ थियो।


त्यस्तै, प्रमुख नरुलाल चौधरीले शिक्षा, पूर्वाधार विकास तथा सेवा प्रवाह सुधारलगायत क्षेत्रमा घोराहीले हासिल गरेका उपलब्धिहरू प्रस्तुत गर्दै समग्र विकासका नमूना अभ्यासहरू साझा गर्नुभयो।
यसैबीच मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले न्यायिक समिति तथा प्रशासनिक कार्यसम्पादनमा मेलम्चीले गरेका प्रगतिबारे जानकारी गराउँदै स्थानीय विवादहरू छिटो, सहज र प्रभावकारी रूपमा समाधान भइरहेको उल्लेख गर्नुभयो। उहाँले न्यायिक प्रणालीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै घोराही टोलीलाई मेलम्ची भ्रमणका लागि निमन्त्रणा समेत दिनुभयो।
कार्यक्रमले दुई पालिकाबीच असल अभ्यास आदानप्रदान, विशेषगरी न्यायिक समितिको सुदृढीकरणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। सहभागीहरूले स्थानीय तहमा न्यायिक सेवा प्रभावकारी बनाउँदै नागरिकको विश्वास अभिवृद्धि गर्ने साझा लक्ष्यमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।






