
सिन्धुपाल्चोक-सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ७ र ८ लाई जोड्ने ठाडोखोला–कालढुङ्गा झोलुङ्गे पुलको समुद्घाटन कार्यक्रम २०८२ साल चैत ४ गते सम्पन्न भएको छ। नाम्लाङखोलामा निर्माण गरिएको उक्त पुलको उद्घाटन वडा नं. ८ का वडा अध्यक्ष विष्णुबहादुर खड्काको सभापतित्वमा तथा गाउँपालिकाका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यमा गरिएको हो।
पाँचपोखरी थाङपाल गाउँपालिका र कादुरी एग्रिकल्चर एण्ड एसोसिएसन (ब्रिटिस गोर्खाज नेपाल) को सहकार्यमा निर्माण भएको पुलले स्थानीय बासिन्दाको आवतजावतलाई सहज बनाउने विश्वास गरिएको छ। कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, गाउँकार्यपालिका सदस्य, सुरक्षा निकायका प्रतिनिधि तथा अस्पताल प्रमुख डा. प्रवेश गजुरेललगायतको उपस्थिति रहेको थियो।


कार्यक्रमको सञ्चालन राजेश खड्का र राजन भुजेलले संयुक्त रूपमा गरेका थिए भने व्यवस्थापनमा प्रशासन प्रमुख सरोज धिताल, उपभोक्ता समिति तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो। स्वागत मन्तव्य वडा नं. ७ का वडा अध्यक्ष सुके तामाङले व्यक्त गर्नुभएको थियो।
संस्थाको तर्फबाट प्रोजेक्ट म्यानेजर रमेश कुमार श्रेष्ठले पुल औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको थियो। कादुरी संस्थाले नेपालभर ६०० भन्दा बढी झोलुङ्गे पुल निर्माण गरिसकेको र हरेक वर्ष करिब १४ वटा पुल निर्माण गर्दै आएको जानकारी कार्यक्रममा दिइयो। सिन्धुपाल्चोकमा भने यो पहिलो परियोजना हो।
प्रारम्भिक लागत १ करोड २४ लाख रुपैयाँ अनुमान गरिएको पुल निर्माण कार्य १ करोड ११ लाख रुपैयाँमा सम्पन्न भएको जनाइएको छ। निर्माण कार्यमा गाउँपालिका, वडा कार्यालय तथा स्थानीयवासीहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गरिएको छ।
कार्यक्रममा स्थानीय कलाकारहरूले लोकदोहोरीमार्फत आफ्नो खुशी व्यक्त गरेका थिए। गाउँपालिकाका उपाध्यक्ष टासी लामाले पुल निर्माणलाई आफ्नो दीर्घकालीन सपना भएको बताउँदै कादुरी संस्थाप्रति आभार व्यक्त गर्नुभयो र भविष्यमा थप दुईवटा पुल निर्माणका लागि पहल गरिने जानकारी दिनुभयो। साथै, जग्गादाता मरिचमान तामाङ, चतुर्मान तामाङ र एकदमै सिंह तामाङलाई धन्यवाद व्यक्त गरिएको थियो।वडा नं. ८ का वडा अध्यक्ष विष्णुबहादुर खड्काले पुल निर्माणले स्थानीयको विगतको कठिनाइलाई अवसरमा परिणत गरेको उल्लेख गर्दै आगामी दिनमा थप विकास कार्य अघि बढाइने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको विस्तृत विवरण सरोज धितालले प्रस्तुत गर्नुभएको थियो।






