काठमान्डौं-गोकर्णेश्वर लाइट एकेडेमीद्वारा अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड ISO २१००१ कार्यान्वयनको घोषणा; नगरकै सान बन्दै विद्यालय काठमाडौँ, गोकर्णेश्वर । शैक्षिक तथा सह-शैक्षिक क्षेत्रमा प्राप्त उल्लेख्य उपलब्धिलाई संस्थागत गर्दै विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गन्तव्य बनाउने उद्देश्यका साथ गोकर्णेश्वर लाइट एकेडेमीले ISO 21001:2018 (Educational Organization Management System) प्रमाणीकरण प्रक्रियाको औपचारिक सुरुवात गरेको छ।
शनिबार गोकर्णेश्वरस्थित ओसिस पार्टी प्यालेसमा आयोजित “हाम्रो सन्तान, हाम्रो भविष्य” विषयक वृहत् अभिभावक अभिमुखीकरण तथा विशेष भेलाका बीच विद्यालयले सो ऐतिहासिक घोषणा गरेको हो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री लक्षण आचार्यज्यूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख श्री दीपक रिसालज्यू मुख्य अतिथिको रूपमा रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रिसालले गोकर्णेश्वर लाइट एकेडेमीले आफ्नो प्रगतिसँगै समग्र गोकर्णेश्वर नगरपालिकालाई नै देश र विदेशमा चिनाउने कार्य गरेकोमा प्रशंसा गर्दै विद्यालयलाई विशेष धन्यवाद दिनुभयो। उहाँले नगरभित्रका विद्यालयहरूले यसरी अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड अपनाउनु नगरकै लागि गौरवको विषय भएको बताउनुभयो।


कार्यक्रममा विद्यालयका प्रिन्सिपलज्यूले गोकर्णेश्वर लाइट एकेडेमीले हालसम्म शैक्षिक तथा सह-शैक्षिक (Extracurricular) दुवै क्षेत्रमा हासिल गरेका उल्लेखनीय उपलब्धिहरूका बारेमा जानकारी गराउनुभयो। उहाँले भन्नुभयो, “हामीले प्राप्त गरेका सफलताहरूलाई अब अन्तर्राष्ट्रिय प्रणालीसँग जोड्दै हाम्रा विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धी र संस्कारयुक्त नागरिक बनाउन ISO २१००१ को यात्रा सुरु गरेका हौँ।” सोही अवसरमा विद्यालयले अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयनका लागि Everest International Management Consultancy का प्रबन्ध निर्देशक एवं अन्तर्राष्ट्रिय मुख्य प्रशिक्षक श्री शैलेन्द्र कुमार खरेलज्यू र Smart Parenting का श्री डिसु श्रेष्ठको उपस्थितिमा MOU (समझदारी पत्र) हस्तान्तरण गरेको छ। मुख्य प्रशिक्षक खरेलले प्रशिक्षणका क्रममा शिक्षालाई केवल ज्ञान र बोध (Knowledge & Understanding) मा मात्र सीमित नराखी प्रयोग र उच्च क्षमता (Application & Higher Ability) सम्म पुर्याउन ISO मापदण्डले मार्गनिर्देश गर्ने बताउनुभयो।
शिक्षिका सुनिता खड्काले कुशलतापूर्वक सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरूले “अङ्क कि क्षमता?” शीर्षकको मर्मस्पर्शी नाटक मञ्चन गरी व्यावहारिक शिक्षाको महत्त्वलाई उजागर गरेका थिए। कार्यक्रममा नयाँ अभिभावक समन्वय समिति गठन गरी शपथ ग्रहण गराइनुका साथै विद्यालयको नीति नियममा अभिभावकहरूको लिखित प्रतिबद्धता समेत संकलन गरिएको थियो। कार्यक्रममा गोकर्णेश्वर–४ का वडा अध्यक्ष जयराम महत, निसानका महासचिव नवराज सापकोटा, सचिव नारद खड्का, प्याब्सन सिन्धुपाल्चोकका सचिव नवराज दनुवार लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो। सभापतिको आसनबाट बोल्दै अध्यक्ष लक्षण आचार्यज्यूले गोकर्णेश्वर लाइट एकेडेमीलाई नगरकै नमूना र अन्तर्राष्ट्रिय स्तरको विद्यालय बनाउने अभियानमा ISO प्रमाणीकरण एउटा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो।







