काठमान्डौं-धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार किशोरी साह कमलको नाम कालोसूचीबाट हटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। साहले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश शारङ्गा सुवेदीको एकल इजलासले उक्त आदेश जारी गरेको हो।
साहको नाम कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोग ले गत फागुन १८ गते उनको उम्मेदवारी खारेज गरेको थियो। त्यसपछि उनले उम्मेदवारी खारेजको निर्णयविरुद्ध सर्वोच्च अदालत मा रिट दायर गरेका थिए।


उम्मेदवारी खारेज भए पनि निर्वाचनको मतपत्रमा रास्वपाको चुनाव चिह्न भने कायम रहेको थियो। उक्त निर्वाचनमा रास्वपाले २० हजारभन्दा बढी मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको थियो। तर उम्मेदवारी खारेज भइसकेको आधारमा दोस्रो स्थानमा रहेका नेकपाका उम्मेदवार मातृका यादव निर्वाचित भएको घोषणा गरिसकिएको छ।
सर्वोच्च अदालतले साहको नाम कालोसूचीबाट हटाउन अन्तरिम आदेश दिएसँगै उनको उम्मेदवारी कायम रहने बाटो खुलेको अधिवक्ता दिपेन्द्र झाले बताएका छन्।
अब यस विषयमा अन्तिम निर्णय अदालतको पूर्ण सुनुवाइपछि हुने बताइएको छ।







