सिन्धुपाल्चोक-चौतारा साँगाचोकगढी नगरपालिका को आर्थिक सहयोगमा वडा नम्बर ७ स्थित नेपानेमा करिब १५ लाख रुपैयाँ लागतमा छोर्तेन निर्माण हुने भएको छ। बौद्ध धर्मावलम्बीहरूको आस्था र धार्मिक संस्कृतिसँग जोडिएको उक्त छोर्तेन निर्माण कार्यका लागि मंगलबार शिलान्यास गरिएको हो। छोर्तेन निर्माणका लागि नगरपालिकाबाट ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ भने बाँकी रकम स्थानीयवासी तथा विभिन्न सहयोगीहरूको जनसहभागिता मार्फत जुटाइने निर्माण उपभोक्ता समितिले जनाएको छ। निर्माण हुन लागेको छोर्तेनको शिलान्यास वडा नम्बर ७ का वडा अध्यक्ष डम्बर बहादुर तमाङ ले एक कार्यक्रमबीच गरेका हुन्।
शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष तमाङले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणका लागि वडा कार्यालय प्रतिबद्ध रहेको बताए। उनले निर्माण कार्यका क्रममा कुनै समस्या आएमा वडाले आवश्यक समन्वय र सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे। उक्त छोर्तेन निर्माणका लागि गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष लालबहादुर तमाङ ले छोर्तेन बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र भएकाले यसको निर्माणले स्थानीय समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले निर्माण कार्य सफल बनाउन सबै पक्षबाट सहयोग आवश्यक पर्ने भन्दै स्थानीयवासी तथा सरोकारवालासँग सहयोगका लागि अपिल समेत गरे।


तामाङ समुदायको बाहुल्यता रहेको नेपाने क्षेत्रमा छोर्तेन निर्माण हुन लागेकोमा स्थानीय बासिन्दा उत्साहित भएका छन्। स्थानीयका अनुसार छोर्तेन निर्माण भएपछि धार्मिक गतिविधि सञ्चालन गर्न सहज हुने, साथै क्षेत्रको सांस्कृतिक महत्व पनि बढ्ने अपेक्षा गरिएको छ। स्थानीयवासीको सक्रिय सहभागिता र नगरपालिकाको सहयोगमा निर्माण हुन लागेको उक्त छोर्तेन निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण उपभोक्ता समितिले जनाएको छ।







