सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिका–७ पातिङमा नेपाली कम्युनिष्ट पार्टि परित्याग गर्दै दर्जनौँ व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। स्थानीयस्तरमा आयोजित कार्यक्रमका बीच उनीहरूले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। कार्यक्रममा कांग्रेस युवा नेता कृष्ण कुमार तामाङ, निमा ग्याल्जेन शेर्पा तथा रमेशराज भण्डारी लगायतका नेताहरूले नवप्रवेशीहरूलाई टीका र खादा लगाई पार्टीमा स्वागत गरे । कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। नवप्रवेशीहरूले लोकतन्त्रको रक्षा, संविधानको कार्यान्वयन तथा मुलुकको समृद्धिका लागि नेपाली कांग्रेसको नीति, निष्ठा र सिद्धान्तप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै पार्टीमा प्रवेश गरेको बताएका छन्। उनीहरूले देशलाई स्थिर, समावेशी र विकासोन्मुख दिशामा अघि बढाउन नेपाली कांग्रेस नै सक्षम राजनीतिक शक्ति भएको विश्वास व्यक्त गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै युवा नेता कृष्ण कुमार तामाङले लोकतान्त्रिक मूल्य–मान्यता र जनतामुखी विकासका लागि नेपाली कांग्रेस सधैँ अग्रपंक्तिमा उभिँदै आएको उल्लेख गरे । “लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि नेपाली कांग्रेसको नीति, निष्ठा र सिद्धान्तप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै पार्टीमा प्रवेश गर्नुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक स्वागत गर्दछु,” उनले भने । साथै उनले पार्टीलाई अझ सुदृढ र जनआधारित बनाउन सबैको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखे । हेलम्बु क्षेत्रमा पछिल्लो समय राजनीतिक ध्रुवीकरण तीव्र बन्दै गइरहेका बेला भएको यस प्रवेश कार्यक्रमलाई अर्थपूर्ण रूपमा हेरिएको छ। स्थानीयस्तरमा संगठन विस्तार, विकासका एजेण्डा र लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको बताईएको छ ।









