काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ मा उम्मेदवार रहेका ईश्वर पोखरेललाई मत दिन नेकपा (एमाले)ले मतदातासँग अपिल गरेको छ। राष्ट्रिय स्वाधीनताको रक्षा, सामाजिक एकता सुदृढीकरण, संविधानको संरक्षण तथा सुशासनमार्फत समृद्धिको यात्रालाई अघि बढाउने लक्ष्यसहित उनको उम्मेदवारीलाई समर्थन गर्न आग्रह गरिएको हो।
संविधानको रक्षा र आवश्यक संशोधनमार्फत यसलाई अझ जीवन्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै नागरिक अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ। सुशासन, चुस्त सार्वजनिक सेवा र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको अभियानलाई उनको नेतृत्वमा थप सशक्त बनाइने उल्लेख गरिएको छ।


रोजगारी सिर्जनाका लागि मौलिक सीप, उद्योग प्रवर्द्धन र उद्यमशीलता विकासमा जोड दिइनेछ। नवयुवालाई प्राविधिक तथा सीपमूलक शिक्षामार्फत स्वरोजगारतर्फ उन्मुख गराउने योजना पनि अघि सारिएको छ। स्वास्थ्य बीमामार्फत गुणस्तरीय स्वास्थ्य सेवा र सामुदायिक विद्यालय सुदृढीकरणमार्फत गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
पूर्वाधारतर्फ टोखा–छहरे सुरुङ मार्ग निर्माण र नेपाल–चीन अन्तरदेशीय राजमार्ग विस्तारलाई प्राथमिकता दिइएको छ। लिच्छविकालीन राजधानी हाँडीगाउँको संरक्षण तथा विकास, बुढानीलकण्ठ मन्दिरलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
त्यसैगरी, टोखाको सपनतीर्थ र चण्डेश्वरी मन्दिरलगायत धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षण, टोखाको चाकुलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन, तथा तामाङ समुदायमा सामुदायिक होमस्टे विस्तार गर्ने लक्ष्य राखिएको छ।
काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ र टोखा नगरपालिकामा खानेपानी, ढल, फोहर व्यवस्थापन, सडक तथा सार्वजनिक यातायात सुधारमा प्रभावकारी समन्वय गर्ने उल्लेख गरिएको छ। महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकका लागि विशेष कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
समर्थकहरूले सूर्य चिन्हमा मतदान गरी जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न अपिल गरेका छन्।







