सिन्धुपाल्चाेक- हेलम्बु गाउँपालिका वडा नं. ६ मा चुनावी अभियानका क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरी आधा दर्जनभन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।


नवप्रवेशीहरूलाई कांग्रेसका उम्मेदवार बंशलाल तामाङले पार्टीमा स्वागत गर्दै आगामी निर्वाचनमा एकजुट भएर अघि बढ्न आग्रह गर्नुभयो। प्रवेश कार्यक्रम उत्साहजनक वातावरणमा सम्पन्न भएको थियो। नवप्रवेशीहरूले कांग्रेसप्रति आफ्नो विश्वास व्यक्त गर्दै सक्रिय रूपमा चुनावी अभियानमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्।
कार्यक्रमका क्रममा स्थानीय मतदाताहरूले विभिन्न विकाससम्बन्धी समस्या उठाएका थिए। पाराङ टोलमा खानेपानीको समस्या समाधान गर्नुपर्ने, चनौटे–ईचोक–चिनिखर्क सडकलाई स्तरोन्नति गरी सहज आवागमनको व्यवस्था मिलाउनुपर्ने तथा पाउनाघर निर्माण गर्नुपर्ने माग प्रमुख रूपमा उठाइएको थियो।
उम्मेदवार तामाङले स्थानीयले उठाएका सबै समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सडक, खानेपानी र आधारभूत पूर्वाधार विकासमार्फत वडा नं. ६ लाई समृद्ध बनाउने लक्ष्यसहित अघि बढेको बताउनुभयो।
कांग्रेस प्रवेश कार्यक्रमसँगै हेलम्बु–६ मा चुनावी माहोल थप सक्रिय बनेको स्थानीयवासीले बताएका छन्।







