काठमाडौँमा आयोजित तरुण भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार वंशलाल तामाङले विगतका जनप्रतिनिधिभन्दा फरक र देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले युवाहरूको जोश, जाँगर, त्याग र बलिदानलाई खेर नजाने गरी विकास र परिवर्तनका काम अघि बढाउने धारणा राखे। पहिलो चरणको मतदाता भेटघाट सम्पन्न हुँदासम्म नेपाली कांग्रेसको पक्षमा जनलहर देखिएको दाबी गर्दै विगतको मतमा अझै वृद्धि हुने विश्वास व्यक्त गरे।


सांगठनिक आधार कमजोर भएकाहरूले भ्रम फैलाएर परिणाम प्रभावित गर्ने सपना देखेको उल्लेख गर्दै उनले त्यस्तो सपना नदेख्न चुनौती दिए। जस्तोसुकै अस्त्र प्रयोग भए पनि त्यसलाई तरुण दलले परास्त गर्ने गरी अघि बढ्न आग्रह गरे।
जिल्लाको भविष्य निर्माणको जिम्मा नेपाली कांग्रेसको काँधमा आएको बताउँदै तामाङले फागुन २१ पछाडि निर्वाचित जनप्रतिनिधि फरक ढंगले काम गरेर देखाउने प्रतिबद्धता जनाए। साथै, सबै कार्यकर्तालाई आफ्नो वडामा फर्केर मत सुरक्षित गर्न आह्वान गरे।







